Menu

बुद्धको जन्मभूमिमा एक दिन


  28th March, 2017

रिजा गौतम, कक्षा : ८

बुद्धको जन्मभूमिमा एक दिन


बुद्ध नेपालमा जन्मिएका थिए । सानैदेखि सुन्दै, पढ्दै आएकी भए पनि बुद्धका जन्मभूमिमा पुग्ने मौका भने जुरेको थिएन । यस वर्ष विद्यालयले हामीलाई शैक्षिक भ्रमणमा बुद्धको जन्मभूमि लुम्बिनी लाने भनेदेखि नै लामो समयदेखिको मेरो सपना साकार हुँदै थियो । हामी कास्कीको धम्पुस र पोखराको भ्रमणपछि लुम्बिनी पुगेका थियौँ । 
हामी सबै बिहानै भैरहवास्थित होटेलबाट लुम्बिनी पुग्यौँ । हामीले विश्व शान्ति स्तुपबाट हाम्रो लुम्बिनी भ्रमण शुभारम्भ गर्यौँ । जापानद्वारा निर्मित शान्ति स्तूपको सफा सेतो रङ र भुइँमा बिछ्याइएको सेतो सिंगमरमरले पनि स्तुप आसपास शान्ति कायम राख्न मद्दत पुर्याइरहेको अनुभव हुन्थ्यो । त्यहाँ ठाउँठाउँबाट आएका बौद्ध धर्मावलम्बीहरुको बाक्लै उपस्थिति देखिन्थ्यो । स्वदेशी तथा विदेशी पर्यटकको पनि त्यहाँ घुइँचो थियो । त्यहाँ केही तस्बिर खिच्ने र स्तुप परिक्रमा गर्ने कार्यपछि हामी पैदलयात्रा गर्दै पुस्तकालय भएको क्षेत्रबाट लुम्बिनी परिसरमा प्रवेश गर्यौँ । केहीबेरको पैदल यात्रापछि हामी जर्मनीद्वारा निर्मित लोटस गार्डेनमा रहेको सुन्दर गुम्बामा पुग्यौँ । यो गुम्बा निकै सुन्दर रहेछ । यहाँको भित्तामा कोरिएका चित्रहरु जति हेरे पनि नआउने खालका रहेछन् । अझ गुम्बाको भित्री भागमा रहेका चित्रहरुले त सबैको मन लोभ्याउँदा रहेछन् । यस्ता गुम्बामा जति समय बिताए पनि सकिने रहेछ । त्यहाँ पुग्दा जताततै शान्ति नै शान्तिको अनुभव भइरहेको थियो । गुम्बा हाताभित्र फुलिरहेका कमलका सुन्दर फुलले सबैलाई स्वागत गरिरहेझैँ लाग्दो रहेछ । स्वच्छ, सफा र हराभरा यो गुम्बामा फेरिफेरि पनि आउने वाचा गरी हामी केहीबेरपछि मन नलागी नलागी पनि फर्कियौँ । 
लोटस गार्डेनपछि हामी सबै नेपालद्वारा निर्मित गुम्बामा पुग्यौँ । यहाँका हरेक गुम्बा ऊभन्दा ऊ राम्रो लाग्ने खालका रहेछन् । नेपाल गुम्बा पनि बाहिरबाट हेर्दा साधारण जस्तो देखिए पनि भित्र भने निकै कलात्मक थियो । यस गुम्बामा नेपाली कला र सभ्यता झल्काउने खालका सामग्री थिए । हामी त्यहाँबाट कम्बोडियाद्वारा बनाइँदै गरेको गुम्बा, म्यानमारको गोल्डेन टेम्पल, शान्तिदीप हुँदै विश्व सम्पदा सूचीमा सूचीकृत बुद्धको जन्मभूमि मायादेवी मन्दिर परिसरमा प्रवेश गर्यौँ । मायादेवी मन्दिरमा प्रवेशका लागि निकै लामो लाम थियो । मानिसहरुको निकै ठूलो घुइँचो थियो । सोही दिन चितवनको सौराहा पुग्नुपर्ने भएकाले हामी लाममा उभिन समय पुगेन । वरिपरि प्रदक्षिणा गरी फर्किने सल्लाह भयो । हामीले त्यहाँ पवित्र पुष्करिणी, अशोक स्तम्भ आदिको अवलोकन गर्यौँ । प्रशस्त तस्बिर खिच्यौँ । 
लुम्बिनी हामी सबैले भ्रमण गर्नैपर्ने स्थान रहेछ । यहाँका हरेक गुम्बा, स्तुप जीवनमा एकपटक भए पनि अवलोकन गर्नैपर्ने खालका रहेछन् । फेरि फेरि पनि मौका मिलाएर धित मर्नेगरी लुम्बिनी घुम्न आउने वाचासाथ हामीले यसपटकको लुम्बिनी भ्रमण हतारहतारमै टुंग्यायौँ ।