Menu

मोक्षदा स्कुलको मितेरी अभियान


  18th December, 2016

मोक्षदा स्कुलको मितेरी अभियान

मोक्षदा स्कुल र नुवाकोटको रातमाटे— ९ स्थित शिलादेवी माध्यमिक विद्यालयबीच मितेरी साइनो गाँसिएको छ । दुवै स्कुलका कक्षा ४ र ५ मा अध्ययनरत छात्रछात्राबीच मितेरी साइनो गाँसिएको हो । 
काठमाडौंबाट रातमाटे आइपुगेका मोक्षदा स्कुलका विद्यार्थीले शिलादेवी माविमा कक्षा ४ र ५ मा अध्ययनरत एक एक जना विद्यार्थीका घरमा गएर बिहानको खाना खाएका थिए । खाना खाने कार्यक्रमपछि दुवै स्कुलका ४ र ५ कक्षाका विद्यार्थीलाई चार समूहमा विभाजन गरी उनीहरूलाई मोक्षदा स्कुलका संगीत शिक्षक भेषु थापा मगरले संगीत प्रशिक्षण गरेका थिए भने नृत्य शिक्षक सुरज भुजेलले नृत्यको प्रशिक्षण दिएका थिए । त्यसैगरी चित्रकला शिक्षक सुमन सुब्बाले चित्रकला र नाटक शिक्षक सुरेश चन्दले नाटकको प्रशिक्षण दिएका थिए । 
प्रशिक्षणमा विद्यार्थीले सिकेका कला विद्यालयमा आयोजित कार्यक्रममा प्रदर्शन गरेका थिए । सो अवसरमा मोक्षदा स्कुलले शिलादेवी माविलाई पुस्तक, खेलकुद र चित्रकलाका शैक्षिक सामग्री उपहारस्वरूप हस्तान्तरण गरेको थियो । मोक्षदा स्कुलका शैक्षिक निर्देशक हरिशरण खनाल र निर्देशक सुमित्रा श्रेष्ठको पहल शिलादेवीका विद्यार्थीको सहभागितामा विद्यालय हाताको सरसफाइसमेत गरिएको थियो ।
शैक्षिक सामग्री हस्तान्तरण समारोहमा मोक्षदा स्कुलका प्रिन्सिपल ठाकुर तिमल्सेनाले सहरमा हुर्केका विद्यार्थीलाई गाउँले जनजीवनको परिचय दिने उद्देश्यले यो मितेरी अभियान सुरु गरिएको र यसलाई हरेक वर्ष निरन्तरता दिइने बताए । कार्यक्रममा शिलादेवी माविका प्रिन्सिपल सीताराम लामिछानेले यो कार्यक्रमले सहर र गाउँका विद्यार्थीबीच मित्रता गाँस्न मद्दत पुगेको र संस्थागत विद्यालय र सामुदायिक विद्यालयबीच साइनो गाँसेर मोक्षदा स्कुलले राम्रो अभियानको सुरुवात गरेको बताए ।