Menu

छन्द कवितावाचनमा मोक्षदालाई अर्को सफलता


  24th August, 2017

छन्द कवितावाचनमा मोक्षदालाई अर्को सफलता

काठमाडौं/ कान्जिरोवा नेसनल माध्यमिक विद्यालयले १५२ औँ मोती जयन्तीको अवसरमा उपत्यकाव्यापी अन्तरमाध्यमिक विद्यालयस्तरीय छन्दोबद्ध कविता वाचन प्रतियोगिता आयोजना गर्यो । वरिष्ठ चलचित्रकर्मी तथा गीतकार यादव खरेलको प्रमुख आतिथ्यमा सम्पन्न सो कार्यक्रममा उपत्यकाका २२ विद्यालयका छात्रछात्राको सहभागिता रहेको थियो । 
प्रतियोगितामा मोक्षदा स्कुलमा कक्षा ७ मा अध्ययनरत छात्रा आकृति भुजेलले तृतीय स्थान हासिल गरिन् । यस प्रतियोगितामा प्राप्त सफलतासँगै आकृतिले यस वर्ष तेस्रो पुरस्कार जितेकी छिन् । यसअघि उनले २०४ औँ भानुजयन्तीको अवसरमा न्यु सनसाइन इङ्लिस स्कुल र एम्बिसन एकेडेमीद्वारा आयोजित छन्द कविता वाचन प्रतियोगितामा सहभागी भई दुवै प्रतियोगितामा प्रथम स्थान हासिल गरिसकेकी छिन् । 
सो प्रतियोगितामा एम्बिसन एकेडेमीकी प्रेरणा भट्टराई, ब्राइट फ्युचर स्कुलकी ऋतिका ठकुरी, मोक्षदा स्कुलकी आकृति भुजेल र ललित एकेडेमीका आवरण कोइराला क्रमशः प्रथम, द्वितीय, तृतीय र चतुर्थ स्थान हासिल गर्न सफल भएका थिए । स्थापित कुनै पनि स्रस्टाको छन्दोबद्ध कविता वाचन गर्नुपर्ने सो प्रतियोगिताका प्रतियोगीहरूको वाचन कलालाई गति, यति, लय, हाउभाउ र प्रस्तुतिका आधारमा निर्णायकहरू गायिका लोचन भट्टराई, भानु प्रतिष्ठानका महासचिव ऋषभदेव घिमिरे र कवि सुदेश सत्यालले मूल्याङ्कन गरेका थिए । 
विजयी प्रतियोगीहरूलाई प्रमुख अतिथि यादव खरेल, विद्यालयका कार्यकारी निर्देशक महेन्द्र खनाल, र प्रधानाध्यापक रञ्जित थापाले संयुक्त रूपमा पुरस्कार, पदक र प्रमाणपत्र प्रदान गरेका थिए । 
कार्यक्रममा बोल्दै प्रमुख अतिथि यादवले यस्ता कार्यक्रमले छन्दका कविताहरू बिर्सिइँदै गएको वर्तमान समयमा विद्यालय स्तरका बालबालिकामा छन्द कविताको चासो बढाउन सहयोग पुर्याउने विचार प्रस्तुत गर्नुभयो । कवि सुदेश सत्यालले कविता वाचन गरेको सो कार्यक्रममा लोचन भट्टराई, ऋषभदेव घिमिरे, महेन्द्र खनाल, रञ्जित थापालगायत वक्ताले मन्तव्य राखेका थिए ।