Menu

मोक्षदा स्कुलमा गजल वाचन प्रतियोगिता


  24th August, 2017

मोक्षदा स्कुलमा गजल वाचन प्रतियोगिता

काठमाडौं/ नेपाली गजलका जन्मदाता मोतीराम भट्टको १५२ औँ जयन्तीको पूर्वसन्ध्यामा मोक्षदा स्कुलले अनाममण्डलीको प्राविधिक सहयोगमा अन्तरस्कुल दोस्रो उपत्यकाव्यापी गजल गायन प्रतियोगिता आयोजना गर्यो । सो प्रतियोगितामा काठमाडौँ र ललितपुरका २४ विद्यालयको सहभागिता थियो । 
वरिष्ठ गजलकार ललिजन रावलको प्रमुख आतिथ्यमा आयोजित सो प्रतियोगितामा नेपाल वेदविद्याश्रम संस्कृत माविका याज्ञवल्क्य न्यौपाने, न्यु सनसाइन स्कुलकी डोमा शेर्पा, लिट्टल एन्जल्स स्कुलका आर्यन रामदाम सोनार र जेम्स स्कुलकी सदीक्षा खतिवडा क्रमशः प्रथम, द्वितीय, तृतीय र चतुर्थ स्थान हासिल गर्न सफल भएका थिए । विजयी छात्रछात्रालाई विद्यालयका प्रिन्सिपल ठाकुर तिमल्सेना, अनामण्डलीका अध्यक्ष रूपक अलङ्कार, विशेष अतिथि पुरुषोत्तम दाहाल र प्रमुख अतिथि रावलले संयुक्त रूपमा पुरस्कार, पदक, ट्रफी र प्रमाणपत्र प्रदान गरेका थिए । कार्यक्रममा मोक्षदा स्कुलका तर्फबाट तारा लामा, आकृति तिमल्सेना र स्नेहा दासले अप्रतियोगीका रूपमा गजल वाचन गरेका थिए । 
सो अवसरमा मोक्षदा स्कुलका तर्फबाट वरिष्ठ पत्रकार तथा मानवअधिकारकर्मी प्रा. पुरुषोत्तम दाहाललाई सम्मान गरिएको थियो । सम्मान कार्यक्रमपछि बोल्दै सम्मानित विशेष अतिथि दाहालले यस्ता कार्यक्रमले विद्यार्थीमा आत्मविश्वास जगाउने विचार व्यक्त गरे । ‘यस्ता कार्यक्रमले एकातिर विद्यार्थीमा आत्मविश्वास जगाउँछन् भने अर्कातिर यसले नेपाली संस्कृति जोगाउन सहयोग पुर्याउँछन्,’ दाहालले भने, ‘संस्कृति हाम्रो जीवन भएकाले यसलाई जोगाउन सबै लागिपर्नुपर्छ ।’
कार्यक्रममा बोल्दै प्रमुख अतिथि वरिष्ठ गजलकार रावलले कुनै समयमा शृङ्गार र मायाप्रेमको विषयका रूपमा मात्र बुझिएको गजल आज जीवनका उकाली, ओराली, सुख, दुःख र सुस्केराको गहन अभिव्यक्तिका रूपमा घरघरमा पुगेको विचार व्यक्त गरे । ‘कुनै समयमा उच्छृङ्खल र अश्लील भनेर हेरिने गजल आज सम्मानित विधाका रूपमा नेपाली साहित्यमा स्थापित भइसकेको छ,’ रावलले भने, ‘यस्ता कार्यक्रमबाट विद्यालय स्तरका बालबालिकामा पनि गजलप्रति चासो जगाउन सहयोग पुग्छ ।’
सो अवसरमा शिक्षाप्रेमी देवी घिमिरे, स्कुलका पिन्सिपल ठाकुर तिमल्सेना, रुपक अलंकार, नारायण निरासी, ज्ञानु विद्रोही, प्रभाती किरण, योगेन्द्र निरौला, लेखनाथ दाहाल, हरिशरण खनाललगायत वक्ताले आआफ्ना गजल वाचनका साथमा गजल वाचनको महत्त्वबारे मन्तव्य राखेका थिए । कार्यक्रम कक्षा ८ की छात्रा यूथिका खनालले सञ्चालन गरेकी थिइन् ।