Menu

शिवपुरी हाइकिङको रमाइलो


  6th December, 2017

शिवपुरी हाइकिङको रमाइलो

मोक्षदा स्कुल आफ्ना छात्रछात्राको सर्वाङ्गीण विकासमा समर्पित छ । बालबालिकालाई कोरा किताबी ज्ञान बाँड्नु ज्ञानको पूर्णता हुनै सक्दैन र मोक्षदाको लक्ष्य पनि त्यो होइन । मोक्षदा बालबालिकालाई मायालु वातावरणमा वर्तमान युग सुहाउँदो समयसापेक्ष ज्ञान दिलाउने मार्गमा दत्तचित्त भई अघि बढेको छ । यसका लागि स्कुलले पाठ्यपुस्तकको कक्षागत पठनपाठनका अतिरिक्त स्कुलबाहिरका गतिविधिमा पनि जोड दिँदै आएको छ । 

शैक्षिक भ्रमण शिक्षाको पूर्णताका लागि नभई नहुने अत्यन्त महत्त्वपूर्ण शिक्षण सिकाइ क्रियाकलाप हो । यसका लागि स्कुलले काठमाडौँ उपत्यकाभित्रको शैक्षिक भ्रमणका अतिरिक्त काठमाडौँबाहिरका विभिन्न स्थानको शैक्षिक भ्रमणको पनि आयोजना गर्दै आएको छ । 

यसै क्रममा यस वर्ष स्कुलले कक्षा ८, ९ र १० का छात्रछात्रालाई शिवपुरी राष्ट्रिय निकुञ्जअन्तर्गत पर्ने बागमती नदीको मुहान बागद्वार र शिवपुरी पहाडको हाइकिङ आयोजना गरेको थियो । सो हाइकिङमा कक्षा ८, ९ र १० सम्पूर्ण छात्रछात्राका साथमा प्रिन्सिपल ठाकुर तिमल्सेनाको नेतृत्वमा शिक्षक, शिक्षिका तथा केही अभिभावकको समेत सहभागिता रहेको थियो ।


नारायणस्थान, पानीमुहानस्थित शिवपुरी राष्ट्रिय निकुञ्जको मूल प्रवेशद्वारबाट बिहान १० बजे सुरु भएको हाइकिङ बागमती नदीको मुहान बागद्वार हुँदै शिवपुरी पर्वतको टुप्पामा रहेको शिवपुरी बाबाको तपस्यास्थलसम्म पुगेर नाङ्गी गुम्बाको पदयात्रा मार्गबाट पुनः पानीमुहान हुँदै मोक्षदा स्कुल आइपुगेपछि समापन भएको थियो । 
हाइकिङका क्रममा सबैले आआफ्नो समूहमा मिलेर घरैमा तयार गरी लगेको खाजा बाँडिचुँडी खाने व्यवस्था मिलाइएको थियो । सो अवसरमा हाइकिङमा सहभागी छात्रछात्रा, शिक्षक, शिक्षिका तथा अभिभावकले उकालो ओरालो पदयात्रा मार्गको आनन्द उठाउनुका साथै स्वच्छ प्राकृतिक वातावरणको आनन्द उठाउने अवसर आएको प्रतिक्रिया दिएका थिए ।