Menu

सांसद गगन थापाले पढाए मोक्षदाका विद्यार्थीलाई


  11th May, 2018

सांसद गगन थापाले पढाए मोक्षदाका विद्यार्थीलाई

मोक्षदा स्कुलको मञ्जरी थिएटरमा शुक्रबार, २८ वैशाखको दिउँसो अलि फरक दृश्य देखिँदै थियो । थिएटरको दर्शक दिर्घामा स्कुलमा कक्षा ८, ९ र १० मा अध्ययनरत झन्डै सयजना छात्रछात्रा तथा उनीहरूका गुरु, गुरुआमा र केही अभिभावक बसेका थिए । विद्यार्थीका हातमा आआफ्नो कक्षाका सामाजिक अध्ययन विषयका पाठ्यपुस्तक, कापी र कलम थिए । उता स्टेजमा भने हातमा मार्कर पेन बोकेर उभिएका थिए— काठमाडौं ४ का सांसद गगन थापा । उनको छेउमा एउटा काठको कुर्सी राखिएको थियो । छेवैमा थियो एउटा ह्वाइट बोर्ड । 
यो कुनै नाटकको दृश्य थिएन । यो त सांसद गगन थापाले सुरु गरेको ‘सांसदसँग विद्यार्थी’ तथा मोक्षदा स्कुलको ‘ज्ञानीसँग हाम्रा नानी’ कार्यक्रमको सामान्य झलक मात्र थियो । पठनपाठनको सुरुआतसँगै सांसद थापाले एउटा अनुभवी शिक्षकले झैँ विद्यार्थीका जिज्ञासा मेटाउँदै उनीहरूलाई विभिन्न प्रश्नसमेत सोध्दै सामाजिक अध्ययन विषयभित्रका नेपालको शासन प्रणाली, संविधान, संसद्, निर्वाचन, नागरिक अधिकार, नागरिक कर्तव्य, कानुनी शासन, विविधतामा एकता, राष्ट्रको समृद्धि, देश विकासका आधारलगायत विभिन्न बुँदामा आधारित भई कक्षा सञ्चालन गरेका थिए । उनले ८, ९ र १० कक्षाको पाठ्यपुस्तकमै आधारित भई छात्रछात्राको जिज्ञासा मेटाउने प्रयत्न गरेका थिए । 
जहिल्यै स्कुलका शिक्षक–शिक्षिकाबाटै पढ्दै आएका विद्यार्थीका लागि पनि यो प्रयोग नौलो स्वाद बनेको थियो । जहिल्यै राजनीतिक भाषण गरेर विपक्षीको उछित्तो काढ्ने नेता थापा पनि जिम्मेवार शिक्षकका रूपमा प्रस्तुत भइरहेका थिए । झन्डै दुई घन्टाको प्रस्तुतिपछि सांसद थापाले आफ्नो क्षेत्रका विद्यार्थीलाई सामाजिक अध्ययन विषयका सीमित पाठमा आधारित भई एकदिने कक्षा लिनेगरी ‘सांसदसँग विद्यार्थी’ नामक अभियान सुरु गरेको बताए । ‘हाम्रो विद्यालय स्तरको पाठ्यक्रममा समावेश गरिएका कतिपय विषय स्वयं शिक्षक र विद्यार्थी दुवैका लागि कठिन लाग्ने गरेको अवस्थामा एकसाथ शिक्षक र विद्यार्थीलाई नै बुझाउने अवसर पाउँदा खुसी लागेको छ,’ थापाले भने, ‘अब विद्यार्थीहरूको प्रतिक्रिया हेरेर यस कक्षालाई थप परिमार्जित गरी कम्तीमा पनि मेरो निर्वाचन क्षेत्रभित्रका विद्यालयमा समय मिलाएर सञ्चालन गर्ने योजना छ ।’ 
सो अवसरमा मोक्षदा स्कुलका प्रिन्सिपल ठाकुर तिमल्सेनाले यस वर्षदेखि विद्यालयले हरेक महिना फरक फरक विषयका विज्ञहरूलाई निम्त्याएर ‘ज्ञानीसित हाम्रा नानी’ कार्यक्रम सञ्चालन गर्न लागेको बताए । ‘हामीले विभिन्न विषयका विज्ञहरूलाई निम्त्याएर शिक्षक र विद्यार्थीहरूका लागि एकसाथ कक्षा सञ्चालन गर्ने अभियान सुरु गरेका छौँ,’ उनले भने, ‘त्यसैको सुरुआत हो सांसद गगन थापाको यो कक्षा ।’
कक्षाको समाप्तिपछि प्रतिक्रिया दिँदै कक्षा १० की छात्रा स्नेहा दासले नेता गगन थापाको कक्षाबाट फरक स्वादमा धेरै जानकारी पाएको बताइन् । त्यसैगरी कक्षा ९ की छात्रा इच्छा चन्दले यो कक्षाबाट आफूहरूले धेरै सिक्ने अवसर पाएको बताइन् । ‘सामाजिक अध्ययन विषयका कतिपय पाठहरू साँच्चै कठिन छन्, छात्रा चन्दले भनिन्, ‘यस्ता पाठहरू सम्बन्धित विज्ञहरूबाटै पढ्दा बढी बुझ्न सजिलो हुने अनुभव आजको कक्षाबाट हामीले गरेका छौँ ।’ कक्षा ८ की अर्की छात्रा सुकीर्ति पराजुलीले नेता थापाको कक्षाबाट आफूहरूले धेरै सिक्ने अवसर पाएको बताउँदै भनिन्, ‘कक्षा निकै रोचक थियो । हामील धेरै सिक्ने अवसर पनि पायौँ । यसमा अडियो–भिज्युअल सामग्री पनि भइदिएको भए सुनमा सुगन्ध हुने थियो ।’