Menu

मोक्षदामा गुन्जियो छन्द कविता


  14th July, 2018

मोक्षदामा गुन्जियो छन्द कविता

२०५ औँ भानु जयन्तीको अवसरमा प्रोग्रेसिभ एजुकेसनल फोरम (पिइएफ) ले अन्तरविद्यालय छन्द कविता वाचन तथा नेपाली हस्तलेखन प्रतियोगिता आयोजना गर्यो । पिइएफका सदस्य विद्यालयहरू मोक्षदा स्कुल र ज्ञानदीप शिक्षा सदनको संयुक्त आयोजनामा मोक्षदा स्कुलको मञ्जरी नाटक घरमा सम्पन्न ती दुवै प्रतियोगितामा फोरमका सदस्य स्कुलका १८–१८ प्रतियोगीको सहभागिता रहेको थियो । 


वरिष्ठ समालोचक तथा लेखक प्राडा. महादेव अवस्थीको प्रमुख आतिथ्यमा सम्पन्न सो प्रतियोगितामा छन्द कविता वाचनतर्फ दुर्गा भवानी एकेडेमीका विनोद खेर, ज्ञानदीप शिक्षा सदनकी स्नेहा मगर, लभ्ली एन्जल्स एकेडेमीकी अपेक्षा शर्मा र निमोनिक मोर्डन एकेडेमीकी कल्पना सुनार क्रमशः प्रथम, द्वितीय, तृतीय र चतुर्थ स्थान हासिल गर्न सफल भएका थिए । त्यसैगरी नेपाली हस्तलेखन प्रतियोगितातर्फ महान् सिद्धार्थ हाई स्कुलकी समिता राई, सोही स्कुलका प्रबिन बुढाथोकी, मोक्षदा स्कुलकी ज्योति लामा र दुर्गा भवानी एकेडेमीकी सबिना वाइबा क्रमशः प्रथम, द्वितीय, तृतीय र चतुर्थ स्थान हासिल गर्न सफल भएका थिए । 
प्रमुख अतिथि अवस्थीले विजयी तथा सहभागी विद्यार्थी र विद्यालयहरूलाई पदक, प्रमाण पत्र र सिल्ड वितरण गरेका थिए । कार्यक्रममा प्रमुख अतिथि प्राडा अवस्थीले नेपाली भाषा, साहित्य, समालोचना र शोधका क्षेत्रमा पु¥याएको योगदानको कदर गर्दै आयोजकद्वय मोक्षदा स्कुल र ज्ञानदीप शिक्षा सदनका तर्फबाट संयुक्त रूपमा अभिनन्दन गरिएको थियो । अभिनन्दित प्राडा. अवस्थीले यस्ता छन्द कविता वाचन कार्यक्रमले ससाना बालबालिकामा नेपाली भाषा, साहित्य र छन्दप्रतिको माया, अपनत्व र सम्मान वृद्धि गर्ने बताए । ‘नेपाली भाषा तथा छन्द कविताप्रतिको मोह कमजोर हुँदै गइरहेको वर्तमान समयमा यस्ता कार्यक्रमले विद्यालय स्तरका ससाना बालबालिकामा समेत नेपाली भाषा, साहित्य र छन्द कविताप्रतिको आस्था वृद्धि गर्न सघाउ पु¥याउँछन्,’ उनले भने, ‘यसबाट नेपाली भाषा, साहित्य र छन्द कवितालाई जीवन्त राख्न मद्दत पुग्छ ।’ 
कार्यक्रममा कविहरू प्रभा भट्टराई, बलराम दाहाल र सुदेश सत्यालले आआफ्ना कविता सुनाएर दर्शकस्रोतालाई मन्त्रमुग्ध बनाएका थिए । ज्ञानदीप शिक्षा सदनकी प्रिन्सिपल सीता भट्टराईको सभापतित्वमा सम्पन्न सो कार्यक्रममा पिइएफका अध्यक्ष विष्णुप्रसाद पोखरेल, महेन्द्र थापा क्षेत्री, मोक्षदा स्कुलका प्रिन्सिपल ठाकुर तिमल्सेना, शैक्षिक निर्देशक हरिशरण खनाललगायतले भानुको योगदानमाथि चर्चा गरेका थिए । कार्यक्रम कक्षा ९ की छात्रा यूथिका खनाल र कक्षा ७ की छात्रा तारा लामाले सञ्चालन गरेका थिए ।