Menu

वालदिवसमा कचहरी नाटक


  14th September, 2018

वालदिवसमा कचहरी नाटक

कुमारीगालको खरिबोट चोकमा बिहिबार अपराह्न अलि फरक दृश्य देखिन्थ्यो । चोकको एउटा कुनामा सवारी आवागमनलाई बाधा नपुग्ने गरी अलि ठूलै गोलो रेखा कोरिएको थियो । रेखाबाहिर मानिसहरू गोलाकार रूपमै उभिएका थिए । नजिकै सडक पेटीमा कोही मादल, कोही बाँसुरी त कोही झ्याम्टा बजाइरहेका थिए । नजिकै टाँगिएको थियो ‘बाल दिवस एवं शिक्षा दिवसको अवसरमा जनकल्याण युवा संघसँग सहकार्य गर्दै मञ्जरी थिएटर, मोक्षदा स्कुल सगौरव प्रस्तुत गर्दछ, कचहरी नाटक’ लेखिएको ब्यानर । ब्यानरबाटै त्यहाँ कचहरी नाटक मञ्चन हुँदै रहेछ भन्ने बुझ्न सकिन्थ्यो ।
एकैछिनमा सेतो गोलाकार घेरोभित्र प्रवेश गरे सूत्रधार सुरेश चन्द । उनले शुक्रबारको बालदिवस र केही दिनअघि गइसकेको शिक्षा दिवसको सन्दर्भ जोडेर मोक्षदा स्कुलको नाटक क्लबका बालबालिकाले कचहरी नाटक मञ्चन गर्न लागेको जानकारी गराए । एकैछिनमा मादल र बाँसुरीको सुमधुर धुनसँगै गोलाकार घेराभित्र आर्यन चन्द, सामना श्रेष्ठ, रक्षा खतिवडा, प्रिन्स वाग्ले, संगीत श्रेष्ठ, सुदीप मगर, अधीश चन्दलगायत विद्यार्थी प्रवेश गरे । उनीहरूका रमाइला संवाद र हँस्याइला क्रियाकलापले दर्शकलाई मज्जाले हँसाए । एकैछिनमा अर्की विद्यार्थी खुसी हमाल गुरुआमाको भूमिकामा प्रवेश गरिन् । उनले विद्यार्थीको मौखिक परीक्षा लिने भन्दै केही प्रश्न सोधिन् र विद्यार्थीले कलात्मक आकृति बनाएर उनका सबै प्रश्नको जबाफ दिए । 
नाटक अघि बढ्दै जाँदा घरेलु मजदुरले पढ्न नपाएको विषयले प्रवेश पाएपछि बालिका सामना श्रेष्ठको अभिनयले धेरैलाई भावुक बनायो । उता घर मालिक्नीको भूमिकामा रहेकी आकृति तिमल्सेनाले पनि आफ्नो प्रभावशाली अभिनयले सबैलाई प्रभावित गरिन् । नाटकले घरेलु मजदुरका सास्ती, उनीहरुले भोग्नुपर्ने अपमान र शिक्षा प्राप्तिको अधुरो धोकोलाई राम्ररी उठाएको थियो । बालदिवस र शिक्षा दिवसको मर्मलाई राम्ररी बोकेको झन्डै २० मिनेटको कचहरी नाटकले दर्शकलाई फरक स्वाद पस्केको थियो । 
नाटक प्रदर्शनपछि स्थानीय समाजसेवी ध्रुवप्रसाद पौडेलले मोक्षदा स्कुलका बालबालिकाले यसरी सडकमा आएर चेतनामूलक नाटक प्रदर्शन गरेर समाजलाई बाटो देखाउने प्रयास गरेको प्रतिक्रिया दिए । ‘यस्ता नाटकले एकातिर बालबालिकाको क्षमता उजागर गर्न सघाउँछन् भने अर्कातिर समाजलाई पनि बाटो देखाइरहेका हुन्छन्,’ उनले भने, ‘मोक्षदा स्कुलको यो प्रयास सराहनीय छ ।’
नाटक निर्देशक सुरेश चन्दले आगामी दिनमा अन्य समसामयिक विषयमा यसैगरी विद्यार्थीहरूको नाटकलाई निरन्तरता दिने बताए । कार्यक्रममा जनकल्याण युवा संघका सचिव सन्तोष अधिकारीलगायत पदाधिकारीको पनि उपस्थिति थियो ।