Menu

महाभूकम्प


  11th May, 2015

हरिशरण खनाल

महाभूकम्प

थरर्र भो जिमी सबै घरै त थर्र थर्किए
ल है ल है भुकम्प गो भनी सबै त तर्सिए ।
उठेर भाग्न खोज्दथे कठै ति पाउ अल्झिए
यसो उसो कसो गरौँ भनेर खूब तड्पिए ।।

कता लुकौँ कसो गरौँ ल बाँच्नु के गरी अब
मरेँ मरेँ बचाउ लौ भनी कराउछन् सब ।
जताततै छ खल्बलै अशान्ति नै अशान्ति छ
मरिन्छ या बचिन्छ खै मनैभरी त भ्रान्ति छ ।।

चरर्र चर्र चर्किदै मरक्क मर्र मर्किंदै
ढले घरैहरू सबै ढलक् ढलक्क ढल्किँदै ।
गड्याम्म ड्याम्म भो सबै अकल्पनीय देखियो
मनोरमी जगत् सबै उजाड फुङ्ङ देखियो ।।

जताततै धुलै धुलो छ भागदौड खल्बल
खुरुर्र खुर्र दौडदै कराउदै छ दल्बल ।
सबै जना त्रसीत छन् छ अश्रु नेत्र नेत्रमा
मरिन्छ लौ सबै यहाँ छ त्रास क्षेत्र क्षेत्रमा ।।

ढलेछ रे धरैहरा गयो अमूल्य सम्पदा
चसक्क दुख्छ यो मुटू पिडा हुने भयो सदा ।
नहोस जे भनी सबै पुकार्दथ्यौँ ति ईश्वर
भूकम्पको विनाशले भयौँ सबै त थर्थर ।।


दगुर्नेपानी, तारकेश्वर नपा, काठमाडौँ
२५ वैशाख, ०७२