Menu

पहिलोचोटि हुलाकबाट चिठी पठाउँदाको अनुभव


  29th June, 2015

आश्विनी बर्देवा

पहिलोचोटि हुलाकबाट चिठी पठाउँदाको अनुभव

पहिलोचोटि हुलाकबाट चिठी पठाउँदाको अनुभव

सानैदेखि चिठी लेख्ने तरिकाबारे त धेरै पढ्दै आइयो । आफन्त र साथीसँगीहरूलाई आवश्यक परेको खण्डमा चिठी लेख्नुपर्छ भन्ने पनि थाहा थियो । तर, साँच्चै वास्तविक जीवनमा चिठी लेख्न भने परेको थिएन । आजको मोबाइल फोन र इन्टरनेटको जमानामा चिठी लेखिरहनुपर्ने बाध्यता पनि त छैन । त्यसैले चिठी लेख्ने तरिकाबारे जानेकै भए पनि साँच्चै चिठी लेख्ने र त्यसलाई हुलाकबाट पठाउने काम भने गर्नुपरेको थिएन । हामीले पठाएको चिठी हुलाकमार्फत हामीले पठाउन खोजेको व्यक्तिको हातमा पुग्छ भन्ने सुनेको भए पनि वास्तवमा हुलाक के हो ? हुलाक टिकट कस्तो हुन्छ ? हुलाकीले चिठी कसरी घरघरसम्म पु¥याउँछन् भन्ने चाहिँ केही थाहा थिएन ।
यस वर्ष कक्षा ९ मा चिठी लेखनसम्बन्धी पढ्नासाथ गुरुले उहाँलाई एउटा चिठी लेखेर हुलाकमार्फत पठाउनुपर्ने गृहकार्य दिनुभयो । सुन्दै पनि अनौठो, हुलाकबाट गृहकार्य । तर गुरुले भनिसकेपछि गृहकार्य त गर्नैप¥यो । फेरि यो सिर्जनात्मक कार्य पनि त थियो । अर्को कुरा गृहकार्यकै बहानामा हुलाक कार्यालय, हुलाक टिकट आदिबारे जान्ने मौका पनि त पाइँदै थियो । फेरि आफैँले पठाएको चिठी हुलाकमार्फत आफैँले पठाएको ठेगानामा कसरी आउला, त्यो थाहा पाउन सकिने मौका पनि थियो । त्यसैले म सो चिठी हुलाकमा खसाल्न निकै आतुर थिएँ । हामी केही साथी चिठी लेखिसकेर विद्यालय छुट्टी हुनासाथ नजिकै रहेको हुलाक कार्यालयतिर लाग्यौँ ।
हामी पाँच जना साथीहरू हुलाक कार्यालय त पुग्यौँ । तर, दुर्भाग्यवश सो कार्यालय गत १२ वैशाखको भूकम्पका कारण भत्केको हुनाले अन्तै सरिसकेको रहेछ । त्यहाँ वरिपरि बुझ्दा मित्रपार्कमा रहेको हुलाक घर त जयवागेश्वरी मन्दिर आसपासमा सरेको रहेछ । त्यसपछि हामी जयवागेश्वरीतर्फ लाग्यौँ । तर, त्यहाँ पुगेपछि पनि हुलाक घर भेट्न भने सकिएन । त्यसैले फेरि वरिपरि सोधपुछ गर्दा थाहा भयो, सो हुलाक घर त भण्डारखालनजिकै सरेको रहेछ । भण्डारखाल कहाँ पर्छ भन्ने हामीमध्ये कसैलाई पनि थाहा थिएन । तैपनि, खोज्दै जाँदा भण्डारखाल पुगेपछि हुलाक घर भेटियो । हामी हुलाक घर पुग्दा ५ बज्न ५ मिनेट मात्र बाँकी रहेछ । कार्यालय बन्द हुने समय भइसकेको थियो । ५ मिनेट ढिला भइदिएको भए त हामी चिठी खसाल्नै नपाई फर्कनुपर्ने थियो ।
हुलाक घरमा एक जना महिला कर्मचारी हुनुहुन्थ्यो । उहाँले हामीलाई खाममा रु. ५ को टिकट टाँस्नुपर्छ भन्नुभयो । टिकटको पछिल्तिर पानी लगाएपछि त्यहाँ गम हुँदो रहेछ र खाममा आफैँ टाँसिदो रहेछ । हामी सबैले रु. ५ तिरेर आआफ्नो खाममा टिकट टाँस्यौँ । टिकट टाँसिएको सो खाम कर्मचारीलाई दिएपछि उहाँले त्यसमा एउटा छाप लगाउनुभयो । ती टिकटमा विभिन्न व्यक्ति र मन्दिर, ठाउँ आदिका चित्र थिए । मेरो खाममा टाँसिएको चित्रमा चाहिँ रूपचन्द्र विष्टको चित्र थियो । सो दिन निकै नौलो अनुभव भयो । जीवनमा पहिलोचोटि हुलाक घर आफैँले खोजेर आफूले लेखेको चिठी हुलाकमार्फत खसालिएको थियो । आफ्नो घरनजिकैको स्थान भए पनि हुलाक रहेको क्षेत्रबारे मैले खासै चासो दिएको रहेनछु । जसले गर्दा हामीले निकै दुःख पनि पायौँ । जे होस् हामी सबै साथीहरू हुलाकमार्फत गृहकार्य बुझाउन पाएकोमा भने दङ्ङ थियौँ ।
यस्तो सिर्जनात्मक र प्रयोगात्मक गृहकार्य दिनुभएकामा नेपाली विषयका गुरु हरिशरण खनालप्रति आभारी छु । आजको प्रविधि विकासले गर्दा हिजोका परम्परागत सिप र प्रविधि हराउँदै गएको वेलामा हुलाकमार्फत चिठी पठाउने चलन पनि निकै कम हुँदै गएको छ । हाम्रो पुस्ताले त यस्ता परम्परागत सिप, प्रविधि र चलन बिस्तारै भुल्दै गएको छ । यस्तो अवस्थामा गुरुले हामीलाई यस्तो गृहकार्य नदिनुभएको भए हामीले पनि हुलाकबाट चिठी खसाल्ने अनुभव गर्नै पाउने थिएनौँ । यसपटकको गृहकार्य हुलाकमार्फत पठाउँदा आफ्नो काम आफैँ गर्दा कति दुःख हुँदो रहेछ र सो दुःखमा कति रमाइलो पनि हुँदो रहेछ भन्ने पनि एकसाथ अनुभव गर्ने मौका पाइयो । झन् पछि हुलाकबाट आफूले खसालेको चिठी स्कुलमा आइसकेपछि कक्षामा गुरुले पालैपालो चिठी पढेर सुनाउँदा र आफ्नो चिठी लेखन साँच्चै राम्रो छ भनेर प्रशंसा गर्दा त खुसीको सिमै रहेन ।

 

गृहकार्यका रूपमा मैले लेखेको चिठी
 

मोक्षदा स्कुल
गौरी नगर, काठमाडौँ
मिति : २०७२/०२/२९


आदरणीय गुरु,
नमस्कार

भगवान्को कृपाले यहाँ म कुशल मङ्गल छु । त्यहाँ तपाईं पनि कुशल मङ्गल नै हुनुहुन्छ होला भन्ने विश्वासमा छु । तपाईंले पठाएको चिठी गत हप्ता पाएँ, खुसी लाग्यो । खुसी सँगसँगै दुःख पनि लाग्यो, तपाईंको स्थिति पढेर । २०७२ साल वैशाख १२ गतेको विनाशकारी भूकम्पपश्चात् तपाईंको जीवनमा जुन अस्तव्यस्तता आयो, त्यसले मलाई निकै दुःखी तुल्याएको छ । साथसाथै, शारीरिक क्षति नभएको सुन्दा भने निकै खुसी पनि छु । आज म पनि सोही भूकम्पबारे आफ्नो अनुभव हजुरसित बाँड्न यो पत्र लेख्दै छु ।
मेरो जीवनको पहिलो ठूलो भूकम्पीय अुनभव बन्न पुग्यो, यस वर्षको विनाशकारी भूकम्प । त्यो दिन सम्झँदा पनि अझै जिउ सिरिङ्ग भएर आउँछ । सो दिन शनिबार भएका कारण म विद्यालयको गृहकार्य सकेर आमा र दिदीसँग घरनजिकैको सिनेमा घरमा नेपाली सिनेमा हेर्न गएकी थिएँ । १२ बजेको सो भएका कारण हामी ११ः४५ मै हलभित्र प्रवेश गरेर बस्ने सिट हेर्दै थियौँ । हामीसँगै त्यहाँ थुप्रै अरू मानिस पनि थिए । हलमा निकै ठुलो भिडभाड थियो । एकैछिनपछि सिनेमाको पर्दामा प्रकाश प¥यो । त्यससँगै पर्दा हल्लेको महसुस भयो । भूकम्प हो भन्ने त हामीलाई रत्तिभर शङ्कै भएन । सामान्य रुपमै बसिरह्यौँ । तर, कम्पन निकै बढ्दै गएपछि भने भूकम्प नै हो भन्ने भयो र त्यहाँ कोलाहल मच्चियो । सबैजना आत्तिँदै भाग्न थाले । अब बाँचिँदैन भन्ने लागेर दिमागले काम गर्न छाडेको जस्तो भइसकेको थियो । बिस्तारै कम्पन कम हुँदै गएर रोकियो, अनि हामी हतारिँदै बाहिर निस्कियौँ । बाहिर निस्किएपछि धन्न बाँचियो भन्ने लाग्यो । बाहिर पुगेका सबैको आँखामा डरत्रास देख्न सकिन्थ्यो । एकैछिनमा थाहा भयो, सो भूकम्पबाट त काठमाडौँको धरहरा, हनुमान् ढोका दरबार क्षेत्र, पाटन दरबार क्षेत्र र भक्तपुर दरबार क्षेत्रमा रहेका अमूल्य सम्पदा ध्वस्त भएछन् । साथै, काठमाडौँ उपत्यका र बाहिरका कैयौँ जिल्लामा निकै ठूलो जनधनको क्षति पनि भएछ । भूकम्पबाट यति ठुलो क्षति भएको सुन्दा सारै दुःख लाग्यो । तर, आफू र आफ्नो परिवार सुरक्षित भएकोमा भने केही सन्तोष लाग्यो ।
त्यो दिन सम्पूर्ण नेपाल र नेपालीका लागि साँच्चैको कालो दिन साबित भयो । सायद सो दिन नेपालको इतिहासकै कहालीलाग्दो दिनका रूपमा चिनिने छ । प्रकृतिको भयावह त्यो रूप सायदै बिर्सिन सकिएला । तर, यसपटकको विनाशकारी भूकम्पबाट मैले निकै ठुलो पाठ पनि सिकेकी छु । हामी भूकम्पबाट भन्दा पनि आफैँले बनाएका भौतिक संरचनाबाट डराउनुपर्ने रहेछ । अब फेरि त्यस्तो दिन नआओस् भन्ने हो भने हामीले आफूले बनाउने भौतिक संरचना बलिया बनाउनै पर्ने रहेछ । अब भविष्यमा यस्तो दिन फेरि नआओस् भनेर भगवान्सित प्रार्थना गर्छु । ढलेका अमूल्य धरोहरहरू फेरि उठाउने चुनौतीलाई आत्मसात् गर्दै हामी सबैले आआफ्नो स्थानबाट सक्दो सहयोग गर्नुपर्छ भन्ने लागेको छ । लेख्दालेख्दै पत्र निकै लामो भइसकेछ । त्यसैले बाँकी कुरा पछि गरौँला ।

तपाईंकी आज्ञाकारी छात्रा
आश्विनी बर्देवा
कक्षा : ९