Menu

धम्पुसको उकालोसँग जिस्किँदा


  23rd March, 2017

सङ्ग्राम क्षेत्री, कक्षा ८

धम्पुसको उकालोसँग जिस्किँदा

यस वर्ष शैक्षिक भ्रमणको क्रममा हामीले कास्कीको धम्पुस पुग्ने मौका पायौँ । गाडीबाट हेम्जाको ढाँडखोलामा झरेपछि सुरु भयो उकालो । साथमा हुनुहुन्थ्यो गुरु, गुरुआमा, दाइदिदी र साथीहरू । कतै मोटरको कच्ची बाटो त कतै ढुंगा छापिएको सिँढी चढ्दै हाम्रो यात्रा सुरु भयो । निकै माथि कता हो कता डाँडाको टुप्पामा एउटा टेलिफोनको जस्तो लाग्ने ठुलो टावर देखिन्थ्यो । गुरुले त्यही टावर देखाएर त्योभन्दा पनि अलि माथि पुग्नुपर्छ भन्दा हामीमध्ये लगभग सबैजसोको सातो गएको थियो । 
उकालोमा बाटोको दायाँबायाँ खेतका गराभरि धान पाकेर पहेँलपुर देखिन्थ्यो । काठमाडौंमा जन्मी हुर्केका हामीलाई त्यही उकालोको यात्रा सगरमाथा आरोहणभन्दा कम भएको थिएन । तर, बिचबिचमा रोकिँदै, फोटोहरू खिच्दै, ढुंगेधाराको चिसो पानी पिउँदै उकालो चढ्दा थकाइभन्दा पनि रमाइलो लागिरहेको थियो । बाटामा थिए परम्परागत ग्रामीण घरहरू । ०७२ को भुइँचालोले पनि ती घरलाई केही असर पुर्याएको देखिएन । 
मानिसहरू खेतबारीमा काममा व्यस्त देखिन्थे । सबै आसपमा मिलेर बसेका थिए उनीहरू । सहरतिरको जस्तो तेरो, मेरो भन्ने भावनाले प्रवेश नै पाएको छैन कि जस्तो देखिन्थ्यो । सबै रमाउँदै गफगाफ गर्दै काममा मग्न थिए । वातावरण अत्यन्तै स्वच्छ, सफा र रमणीय थियो । अझ बेलाबेलामा माछापुच्छ्रेलगायत हिमालको लोभलाग्दो दृश्य पनि देख्न पाउँदा स्वर्ग यतै कतै छ कि जस्तो लाग्थ्यो । पहेँलपुर धानसँगै वरिपरिको हरियालीले हामीलाई मन खोलेर स्वागत गरिरहेझैँ लाग्थ्यो । 
डाँडाको टुप्पामा देखिएको टावर पनि नजिक नजिक आइरहेको थियो । हामी सबै उकालोको हिँडाइमा थाकेर लखतरान परिसकेका थियौँ । तर, अझै पनि पुग्नुपर्ने गन्तव्य कता हो कता, अलमलमै थियौँ हामी । तलबाट हेर्दा आकाशमै देखिएको सूर्य पनि अब डाँडामा लुक्ने तरखर गर्दै थियो । तर, डाँडाको माथि पुग्ने छाँटकाँट थिएन । अगाडि अगाडि हिँडिरहेका साथीहरू निकै अघि पुगिसकेका थिए भने हामी अलि पछि रहेकाहरू निकै पछाडि नै छुटिसकेका थियौँ । तैपनि, बिस्तारै बिस्तारै माथि उक्लिँदै जाँदा धम्पुसको डाँडामा रहेको भ्यु प्वाइन्ट पुगियो । सूर्य डाँडापछाडि लुक्नै लागिसकेको थियो । एकातिर डुब्न लागेको सूर्य, अर्कातिर सूर्यको रातो किरणबाट पोतिएका माछापुच्छ्रे, अन्नपूर्ण, हिउँचुली आदि हिमाल लोभलाग्दा देखिएका थिए । ती हिमाल जति हेर्यो उति हेरुँ हेरुँ लागिरहेको थियो । फोटो त कति खिचियो कति ! 
उकालो चढ्दाचढ्दा हामीमध्ये सबैजसो निकै थाकेका थियौँ । तैपनि, हामी जीवनमा पहिलोचोटि यति नजिकबाट हिमाल हेर्न पाउँदा दङ्ग थियौँ । पहाडको घर जाँदा आउँदा उकाली, ओराली त अलिअलि गरिएकै थियो । तर, धम्पुसको जस्तो रमाइलो उकालो यसअघि कहिल्यै चढिएको थिएन । झन् धम्पुसको थाप्लाको भ्यु प्वाइन्टको त के कुरा गर्नु ? यहाँबाट एकसाथ पोखरा बजारदेखि उत्तरका सेता सेता हिमालसम्म एकसाथ देख्न सकिँदो रहेछ । हिमाल हेर्दा यसो हातैले छोइएला कि जस्तो लाग्ने । हिमाल पनि के हो कति ! उत्तरतिर त जति आँखा डुलायो, त्यति हिमालै हिमाल मात्र देखिने ! त्यसैले पहिलो भेटमै धम्पुसको उकालोसित हामी सबैको माया बसिसकेको थियो । लामै समय त्यहाँ बसेर थकाइ मारिसकेपछि हामी बेलुकीको विश्रामका लागि लाग्यौँ होटेल ग्रिनल्यान्डतिर ।