Menu

पन्चैबाजाको धुनमा नाच्दा


  23rd March, 2017

दीपिका बुढाथोकी, कक्षा : ५

पन्चैबाजाको धुनमा नाच्दा

केही समयअघि गाउँमा आफ्नै काकाको बिहेमा सहभागी हुने मौका जुर्यो । गाउँको बिहेमा यसरी सहभागी हुने मौका यसअघि मिलेको थिएन । त्यसैले हामीले विद्यालयमा केही छुट्टी मिलाएर बिहेमा सहभागी हुने व्यवस्था मिलाएका थियौँ । हामी सबैले काठमाडौंबाट बिहानै बस चढ्यौँ । बसको यात्रा पनि रमाइलो भइरहेको थियो । बाटामा हामीले बस्ती, वन, जङ्गल, खोला आदिको रमाइलो दृश्य देख्ने मौका पायौँ । 
बाटामा हाम्रो बस केही समय रोकियो । त्यतिखेर हामी बसबाट ओर्लिएर नजिकै रहेको झोलुङ्गे पुलसम्म पुग्यौँ । झोलुङ्गे पुल त कस्तो मजाले हल्लिँदो रहेछ । अलिअलि डर पनि लाग्यो । एकै छिनमा बसले हर्न बजायो । अनि हामी सबै फेरि बसमै फर्कियौँ । बाटोमा धुलो उडाउँदै गुडिरहेको बसले हामीलाई दिउँसो दुई बजेतिर सिन्धुपाल्चोकको ठोकर्पा पु¥यायो । हामी घर पुग्दा घरमा त पन्चैबाजा बजिरहेको थियो । मैले असअघि पन्चैबाजाको धुन सुनेको भए पनि नजिकबाट हेर्ने मौका खासै पाएकी थिइनँ । यहीँ नजिकबाट धुन सुन्ने र बाजाहरु नियाल्ने मौका पनि पाएँ । नरसिंहा, सनही, ट्याम्को, दमाहा र झ्यालीलाई पन्चैबाजा भनिँदो रहेछ । साथमा ढोलक पनि हुँदो रहेछ । बाजाको तालमा त्यहाँ आफन्तहरु पनि रमाइलो गर्दै नाच्दै हुनुहुन्थ्यो । हामीचाहिँ बस यात्राले गर्दा थाकेको हुनाले हातमुख धोएर खाजा खानतिर लाग्यौँ । खाजामा चिउरा, सेलरोटी, कसार आदि खाइयो । बडो मिठो लागिरहेको थियो । 
भोलिपल्ट बेहुलालाई सिँगारपटार गरेर अन्माउने काम भयो । गाउँघरमा त बेहुलालाई पनि डोलीमा बोकिँदो रहेछ । मलाई त निकै अचम्म लाग्यो । यस्तो अचम्मको विवाह मैले यसअघि कहिल्यै देख्ने मौका पाएकी थिइनँ । हामी सबै पन्चैबाजाका धुनमा नाच्दै जन्ती गयौँ । बेहुलीको घरमा पुगेपछि पनि निकै रमाइलो गरियो । पन्चैबाजाको धुनमा नाच्दानाच्दै दिउँसोको चार बजेतिर बेहुली अन्माइदिए । त्यसपछि फेरि पनि हामी सबै पन्चैबाजाको तालमा नाच्दै होहल्ला गर्दै घर फर्कियौँ । यसपटकको ठोकर्पा यात्रा मेरा लागि अविस्मरणीय रह्यो । नौलो खालको बिहे देख्ने मौका पनि जुर्यो भने पन्चैबाजाका तालमा साथीहरु मिलेर नाच्न पनि पाइयो ।