Menu

एभिएसन म्युजियमको भ्रमण


  10th January, 2018

रोनक साह, कक्षा : ९

एभिएसन म्युजियमको भ्रमण


गुरुहरूले भोलि म्युजिमय भ्रमणमा जाने भन्नुहुँदा स्कुलबाट बाहिर जान पाउने भएकाले केही उत्साहित भए पनि खासै नौलो भने लागेको थिएन । किनकि, यसअघि पनि म्युजियम त गइएकै थियो । त्यसैले, पहिले पनि गइसकेको म्युजियम जाने कुराले ममा मात्र होइन, साथीहरूमा पनि खासै ऊर्जा ल्याएको जस्तो लागेको थिएन । 
भोलिपल्ट जब हामी गुरुहरूसित म्युजियमका लागि प्रस्थान गर्यौँ, स्कुल बसको चालबाटै बुझिँदै थियो कि हामी पहिलेपहिले जाने गरेको म्युजियमतिर गइरहेका थिएनौँ । स्कुलबाट निस्केर बस गौशाला हुँदै अन्तर्राष्ट्रिय विमानस्थलतर्फ लागेपछि केही फरक स्थानमा हामी जाँदै छौँ जस्तो लाग्यो । जब बस सिनामंगलमा पुगेर घ्याच्च रोकियो, हामीले त्यहाँ नजिकै एउटा विशाल हवाईजहाज रोकिएको र त्यसको बाहिरी भागमा ‘एभिएसन म्युजियम’ लेखिएको देख्यौँ, बल्ल थाहा भयो कि हामीलाई गुरुहरूले सिनामंगलमा भर्खरै खुलेको नयाँ एभिएसन म्युजियममा पो लानुभएको रहेछ । 
जीवनमा यति ठूलो हवाईजहाजमा चढ्ने त कुरै भएन, आकाशमा उडेको बाहेक प्रत्यक्ष रूपमा यति नजिकैबाट कहिल्यै देख्नसमेत पाइएको थिएन । आज म्युजियमकै रूपमा भने पनि यसभित्र पसेर अलग्गै अनुभव लिने मौका पाइँदै थियो । केही वर्षअघि त्रिभुवन विमानस्थलमा अवतरणका क्रममा दुर्घटनामा परेको टर्किस एयरलाइन्सको हवाईजहाजको बडीलाई नेपाली क्याप्टेन वेद उप्रेतीद्वारा स्थापित वेद उप्रेती ट्रस्टले यस्तो आकर्षक म्युजियममा परिणत गरेको रहेछ । ट्रस्टले निकै ठूलो धनराशि खर्चेर यो म्युजियम स्थापना गरेको रहेछ । ट्रस्टले यसबाहेक धनगढीमा पनि अर्को यस्तै एभिएसन म्युजियम सञ्चालन गरेको रहेछ ।
विमानभित्र विभिन्न कक्ष निर्माण गरिएका रहेछन् । तीमध्ये हुम्ला कक्षमा कुराकानी गर्न, बिजनेस मिटिङ गर्न र म्युजियमबारे श्रव्यदृश्य सामग्री अवलोकन गर्न सकिने रहेछ । क्याप्टेन उप्रेतीले यस म्युजिमयमा प्रवेश गर्दादेखि नै वास्तविक विमानको झल्को दिने प्रयास गरेका रहेछन् । अवलोकनका लागि पुगेका दर्शकलाई म्युजियमको ढोकामै विमान परिचारिकाको भेषमा सजिएका कर्मचारीले स्वागत गर्ने व्यवस्था मिलाइएको रहेछ । म्युजियमभित्र विभिन्न समयमा विकसित विमानको ससाना नमुना संकलन गरिएका रहेछन् । साथमा तिनका तस्बिरहरू पनि राखिएका रहेछन् । म्युजियमभित्र राइट दाजुभाइले निर्माण गरेको पहिलो हवाईजहाजदेखि अहिलेका अत्याधुनिक हवाईजहाजसम्मका नमुना संकलन गरिएका रहेछन् । आकाशमा चिलझैँ उड्ने हवाईजहाज यथार्थमा यति ठूलो होला भन्ने कहिल्यै सोचिएको थिएन । तर, एभिएसन म्युजियमभित्र पसेपछि मात्र यसको आकारबारे वास्तविक जानकारी पाउन सकियो । 
म्युजियमका सञ्चालक वेद उप्रेतीले कक्षा ९ देखि १२ सम्मका विद्यार्थीमा एभिएसनसम्बन्धी चासो जगाउने उद्देश्यले विद्यालयको सिफारिस लिएर आएको खण्डमा उनीहरूलाई निःशुल्क प्रवेशको व्यवस्था मिलाउनुभएको रहेछ । अहिले, म्युजियममा पनि सोही समूहका विद्यार्थीको भिड लागिरहेको देख्न सकिन्थ्यो । हुन त, त्यहाँ ससाना कक्षाका भाइबहिनी पनि पुगिरहेका देखिन्थे । 
म्युजियम भर्खरै खुलेको हुनाले भविष्यमा त्यसमा समयअनुसार सुधार हुँदै जानेछ र त्यहाँ प्रदर्शनीमा राखिने सामग्रीको संख्या पनि पक्कै बढ्नेछ । तत्कालका लागि चाहिँ क्याप्टेन वेद उप्रेतीको यही प्रयास नै सलामयोग्य छ । कबाडीमा जाने हवाईजहाजको बडी करोडौँ मूल्यमा किनेर यसरी म्युजियम बनाएर हामी जस्ता दर्शकलाई विमानसम्बन्धी अमूल्य जानकारी दिने उहाँको प्रयासको जति प्रशंसा गरे पनि कमै हुन्छ । यस म्युजियमले हामीजस्ता विद्यार्थीलाई मात्र होइन, स्वदेशी तथा विदेशी जुनसुकै उमेरका पर्यटकलाई पनि आकर्षित गर्ने निश्चित छ । हामी त गयौँ, काठमाडौंको सिनामंगलस्थित एभिएसन म्युजियमको भ्रमणमा, अब तपाईंको पालो है !