29th December, 2019
सुवेक्षा भण्डारी कक्षा : ९
केही अघि जुम्लाको तातोपानी गाउँपालिका— ८, बारागाउँमा रहेको जनजागृति आधारभूत विद्यालयमा अध्ययनरत आफूजस्तै केही साथीहरुले महिनावारी हुँदा हरेक महिना पाँच दिनसम्म कक्षाकोठामा प्रवेश गर्न नपाउने, बाहिरै बसेर पढ्नुपर्ने समाचार पढेकी थिएँ । अझ त्यहाँ पढाउने गुरुआमाहरुले पनि महिनावारी हुँदा हरेक महिना पाँच दिनसम्म कक्षाकोठामा प्रवेश गर्न पाउनुहुँदो रहेनछ । महिनावारी भएको वेला कक्षाकोठामा प्रवेश गर्दा देउता रिसाउँछन्, विद्या नाश हुन्छ भन्ने त्रास देखाएर आफूजस्तै कलिला साथीहरुलाई शिक्षा प्राप्त गर्ने उनीहरुको नैसर्गिक अधिकार प्राप्तिमा तगारो तेस्र्याएको देख्दा सारै ननिको लाग्यो ।
सुदूर पश्चिमको बाजुराको एउटा पिछडिएको गाउँबाट राजधानी आई अध्ययन गर्दै गरेकीले पनि होला, मलाई यस विषयले अलि बढी नै छोयो । यो घटनाबारे समाचार पढ्दै गर्दा आफ्नै गाउँघरमा छाउपडीका नाममा चलिरहेको एउटा कुप्रथा र त्यसबाट त्यहाँका आमा, काकी, माइजू, भाउजू, दिदी, बहिनी आदि प्रताडित भइरहेको पनि झल्झली सम्झिएँ । छाउपडी कुप्रथाबाट विशेषगरी सुदूर पश्चिम र कर्णाालीका महिला बढी पीडित छन् । एउटा सामान्य प्राकृतिक प्रक्रियाका रुपमा लिनुपर्ने महिलाको महिनावारीलाई यी क्षेत्रमा पापका रुपमा अथ्र्याउने गरिन्छ । संसार कहाँबाट कहाँ पुगिसक्यो, हाम्रो सुदूर पश्चिमले भने अझै पनि छाउपडी प्रथाका नाममा महिलालाई अपमानित गरिरहेको छ, महिलामाथि अमानवीय यातना थोपरिरहेको छ र महिलालाई पशुवत् व्यवहार गरिरहेको छ ।
सुदूर पश्चिममा महिलाको महिनावारी हुनुलाई छुई या छाउ भएको भन्ने गरिन्छ । यस क्रममा महिनावारी भएको दिनदेखि पाँच दिनसम्म महिलालाई पुरुषले छुन हुँदैन, अनुहार हेर्नु हुँदैन भनेर घरदेखि टाढा बनाइएका साँघुरा गोठमा एक्लै असुरक्षित रुपमा बस्न बाध्य पारिन्छ । यस समयमा आफ्नै बुबा, दाजुभाइ, काका, मामा आदिको अनुहारसमेत हेर्न दिइन्न । छाउगोठमा बसेका महिला, युवती वा किशोरीलाई पौष्टिक आहारको पनि अभाव हुन्छ । उनीहरुले ताजा खानासमेत पाउँदैनन् । जाडोको समयमा न्यानो ओढ्ने र ओछ्याउनेको पनि अभाव हुन्छ । उनीहरुले दही, दुध, घिउ खान पाउँदैनन् । राम्रा र तागतिला खानेकुरा नपाए पनि उनीहरुले काम भने अरु वेलाभन्दा झनै बढी गर्नुपर्छ । जसले गर्दा उनीहरुको स्वास्थ्य थप कमजोर हुन्छ । यस्ता छाउगोठ महिलाका लागि निकै असुरक्षित हुन्छन् । छाउगोठमा बसेको समयमा सर्पले डसेर मृत्यु भएका समाचार पनि वेलावेलामा आउँछन् । जाडोको समयमा साँघुरो छाउगोठभित्र आगो बालेर सुत्दा निसास्सिएर पनि कैयौँका ज्यान गएका छन् । अघिल्लो वर्ष मेरै जिल्ला बाजुराको बुढीनन्दा गाउँपालिकाको एउटा छाउगोठमा न्यानोका लागि बालेको आगोबाट दुई नाबालक छोरासहित आमाको ज्यान गएको थियो । अझ महिनावारी भएकी महिलाले पुरुषको अनुहार हेर्नु हुँदैन, छुनु हुँदैन भन्ने अन्धविश्वासी समाजमै छाउगोठमा बसेका कतिपय महिला, युवती र किशोरीहरु बलात्कारजस्तो जघन्य अपराधको सिकारसमेत हुने गरेका छन् ।
स्केच : जूनकीरी, नागरिक राष्ट्रिय दैनिक
बाजुराकै दुर्गम गाउँमा जन्मेकी भए पनि मेरी आमा एक स्वास्थ्यकर्मी भएकीले होला, मैले चाहिँ यस्ता पीडा झेल्नुपरेन । मेरी आमा आफू पनि छाउगोठमा बस्नुभएन र हामीलाई पनि बस्न लगाउनुभएन । म सानैमा राजधानी आएर पढ्न पाएँ । राजधानीमा हामी महिनावारीको समयमा पनि निर्धक्क स्कुल जान्छौँ । केटा साथीहरुसित एउटै कक्षाकोठामा पढ्छौँ । गुरुहरुले पनि मजाले पढाउनुहुन्छ । यहाँ त कहिल्यै देउता रिसाएको थाहा भएन । कसैले देउता रिसाउँछन् भनेका पनि छैनन् । यहाँका देउता रिसाउँदैनन् भने उताका देउता चाहिँ आफ्ना सन्तान महिनावारी हुँदा किन रिसाउँदा हुन् र ? अझ म अहिले पनि बाजुरास्थित आफ्नो घरमा जाँदा महिनावारी भएको समयमा घरमै बस्छु । सबैको अनुहार पनि हेर्छु । सबैलाई छुन्छु पनि । तर, मेरा देउता त कहिल्यै रिसाएको थाहा छैन । अनि, अरुका चाहिँ किन रिसाउँदा हुन् र ?
महिनावारी हुनु एउटी महिला स्वस्थ हुनुको परिचय हो । यो एउटा नियमित प्राकृतिक प्रक्रिया हो । एउटी महिला आमा हुन योग्य छिन् भन्ने प्रमाण हो । यस्तो नियमित प्रक्रिया कसरी अपवित्र हुन सक्छ ? यो कसरी छुन नहुने पापको विषय हुन सक्छ ? यो सबै मानिसमा वर्षौंदेखि जमेर बसेको अन्धविश्वास सिवाय केही होइन । अन्धविश्वासकै कारण कर्णाली र सुदूर पश्चिमका मजस्तै साथीहरु विद्यालय जान या कक्षाकोठामा प्रवेश गर्नबाट वञ्चित छन् । उसै त यस क्षेत्रको पठनपाठन कत्ति पनि स्तरीय छैन । झन् त्यसमाथि महिनामा आफू र गुरुआमाहरु महिनावारी हुँदा कैयौँ दिनको पढाइ छुट्छ । अनि पढ्दै नपढी परीक्षा दिनुपरेपछि कहाँबाट गुणस्तरीय जनशक्ति उत्पादन हुँदो हो त ? यस्तै कुप्रथाले जकडेको हुनाले नै हो, यी क्षेत्र विकासमा पछि परेको ।
छाउपडी एउटा अत्यन्तै गलत प्रथा हो । यसलाई नहटाई यी क्षेत्रका महिलाले शिर ठाडो गरेर समाजमा आत्मसम्मानपूर्वक बाँच्न पाउनेछैनन् । समाजले जेसुकै भनोस्, हामीले छाउपडी प्रथा हटाउनैपर्छ । छाउगोठ भत्काउनैपर्छ । यसका लागि कडा कानुन बनाएर लागू गर्नुका साथै, समाजमा जनचेतना पनि फैलाउनुपर्छ । गाउँगाउँ पुगेर त्यहाँका आमा, हजुरआमा, दिदी, बहिनी सबैलाई यस प्रथाको खराबीबारे सुसूचित गराउनुपर्छ । सबैभन्दा ठूलो कुरा यस्तो प्रथा चुपचाप सहिरहेका आमा, दिदीबहिनीले यसलाई तोड्ने हिम्मत गर्नैपर्छ । छाउ नबार्दा रिसाए पनि समाजका एकदुई पुरुष रिसाउलान्, तर देउता त मरिगए रिसाउँदैनन्, ढुक्क हुनुस् ।
(नोट : भण्डारीको यो लेख २०७६ पुस, १२ गते शनिबारको नागरिक राष्ट्रिय दैनिकको साप्ताहिक बाल प्रकाशन 'जूनकीरी'मा प्रकाशित छ)
https://epaper.nagariknetwork.com/nagarik/src/epaper.php?id=4098#page/8
MOKSHADA SCHOOL has opened admission for grade Play Group (PG) to grade 9.
2nd April, 2024
Why MOKSHADA SCHOOL is different from other schools?
Mokshada School
2nd April, 2024
Mokshada Nagar, Kumarigal, Kathmandu, Nepal
Tel : 01 - 4114318/01 - 4114274 (School)
Email : schoolmokshada@gmail.com
28th June, 2021
भन्छन् भगवान् माटो, ढुङ्गा, मूर्ति, म खोज्न जाऊँ केमा, म देख्छु भगवान् तिम्रो शरीर मनमा, तिमी मेरी प्यारी आमा ।
28th June, 2021
So many times I hurt you, With cruel words I'd say, You know I didn't mean them, And you love me anyway.
© Copyright 2024 Mokshada School All Rights Reserved
Developed & maintained by AppBasis