Menu

मोक्षदाको मञ्जरीमा चौतारी नाटक


  15th April, 2016

मोक्षदाको मञ्जरीमा चौतारी नाटक


यदि तपाईं कुनै नाटक हेर्न रङ्गमञ्चमा जानुभयो र त्यहाँ तपाईंको आफ्नै कथाव्यथालाई कलाकारले नाटकका रूपमा मञ्चन गरिदिए भने तपाईंलाई कस्तो अनुभव होला ? झन्डै एक वर्षदेखि नेपालका गाउँघर र सहर बजारमा चौतारी नाटक मञ्चन गरिरहेको नेपाल चौतारी नाटक समूहले यसैगरी दर्शकका कथाव्यथालाई नाटकका रूपमा मञ्चन गर्दै आएको छ । जसमा तपाईं आफू पनि सहभागी भएर आफ्ना कथाव्यथा र अनुभूतिहरू सुनाउँदै आफू पनि सोही अनुभवमा आधारित नाटकको दर्शक बन्न पाउनुहुन्छ ।
चौतारी नाटक मञ्चनका लागि कलाकारले संवाद कण्ठस्थ गर्दैनन् । कथाअनुसार पूर्वाभ्यास पनि गर्दैनन् । केवल दर्शकले मञ्चमा बसेर सुनाएका कथाव्यथालाई ध्यान दिएर सुन्छन् र त्यसैलाई तत्काल विनाकुनै सरसल्लाह, विनाकुनै पूर्वाभ्यास मञ्चमा प्रस्तुत गर्छन् । यस शैलीको नाटकमा एकजना सूत्रधार हुन्छन् । जसले दर्शकसित संवाद गर्छन् । दर्शकका जीवनका कथाव्यथा खोतल्छन् । मञ्च र दर्शकबीचको तार जोड्ने काम गर्छन् । जब दर्शक आफ्नो जीवनका सुखदुःखका भोगाइलाई मञ्चमा गएर सुनाउन तयार हुन्छन्, तब सूत्रधारले ती कथाव्यथा र जीवन भोगाइअनुसार विभिन्न शैलीमा नाटक मञ्चन गर्न मञ्चमै कथा सुनेर बसिरहेका कलाकारलाई अनुरोध गर्छन् । अनि सुरु हुन्छ भर्खरै दर्शकले सुनाएको कथाव्यथाभित्रको नाटक ।
चौतारी नाटकमा दर्शकले आफ्नो मनभित्र गुम्सिएका कथाव्यथा सबैसामु पोख्न पाउँछन् । विशेष गरी आफ्नो मनको बह कसैसित पोख्ने मौका नपाएका व्यक्तिले यस्तो शैलीको नाटकमा आफूलाई पोख्ने उपयुक्त मञ्च पाउँछन् । कलाकारले तिनै दर्शकका अनुभूति, सुस्केरा, जीवन भोगाइ र सुखदुःखका कथाव्यथालाई अभिनयमार्फत दर्शकसामु तत्काल मञ्चन गरिदिन्छन् ।
नयाँ वर्ष ०७३ को पहिलो साँझ मोक्षदा स्कुलको मञ्जरी नाटक घरमा पनि यस्तै शैलीको चौतारी नाटक मञ्चन हुँदै थियो । स्कुलका शैक्षिक निर्देशक हरिशरण खनालले दर्शकहरूलाई स्वागत गरिसकेपछि मञ्चमा प्रवेश गरेका सूत्रधार सुरेश चन्द, कलाकारहरू पशुपति राई, सृजना अधिकारी, गुञ्जन दीक्षित, राजन खतिवडा, सरस्वती चौधरी र आकांक्षा कार्कीले सुमधुर सङ्गीतको धुनसँगै एकपछि अर्को गर्दै दर्शकका कथाव्यथामा विभिन्न शैलीका नाटक प्रस्तुत गरे । दर्शकमध्ये कसैले एक पटक फेरि गत वर्षको १२ वैशाखको भूकम्पलाई सम्झिए । भूकम्पलाई सम्झिँदै गर्दा दर्शकको मनमा भूकम्पको त्रासदी अझै बाँकी रहेको अनुभूति हुन्थ्यो । कसैले नाकाबन्दीको समयमा ग्यास नपाउँदाको पीडा पोखे । ग्यास नपाउँदा दाउरा बालेर खाना पकाउँदाको सास्ती र आफन्तले बल्लतल्ल मिलाइदिएको आधा सिलिन्डर ग्यास पाउँदाको खुसीलाई कलाकारले एकसाथ कलात्मक ढङ्गमा समायोजन गरेर देखाइदिए । कथा सुनाउने क्रममा कसैले आफ्नो बाल्यकालका स्मृतिहरू बाँडे भने कसैले बाबुआमाबिच झगडा भएर बाबु–आमा अलग्गिँदा आफ्नो कलिलो मस्तिष्कमा परेको आघातको पीडा पोखे । पालैपालो दर्शकका कथाव्यथा सुनिरहेका कलाकारले तत्काल तिनै कथामा अभिनय प्रस्तुत गर्दा दर्शकहरू कहिले पेट मिचीमिची हाँसिरहेका थिए भने कहिले भाबुक भएर सुँकसुँकाइरहेका देखिन्थे ।
मोक्षदा स्कुलको मञ्जरी नाटक घर उद्घाटनका क्रममा मञ्चन गरिएको यस नाटकसँगै स्कुलका तर्फबाट प्रत्येक महिनाको १ गते नेपाल चौतारी नाटक समूहका कलाकारहरूद्वारा चौतारी नाटक मञ्चन गरिने र स्कुलका बाल बालिकाले चाहिँ प्रत्येक साता नाटक प्रस्तुत गर्ने स्कुलका नाटक क्लबका निर्देशक सुरेश चन्दले बताए ।