Menu

एम्बिसन एकेडेमीमा मोक्षदा स्कुल प्रथम


  17th July, 2017

एम्बिसन एकेडेमीमा मोक्षदा स्कुल प्रथम

नेपाली भाषा साहित्यका आदिकवि भानुभक्त आचार्यको २०४ औँ जन्म जयन्तीको अवसरमा मध्यबानेश्वरस्थित एम्बिसन एकेडेमीले आयोजना गरेको उपत्यकाव्यापी भानुभक्तीय रचना पाठ प्रतियोगितामा मोक्षदा स्कुलमा कक्षा ७ मा अध्ययनरत छात्रा आकृति भुजेल प्रथम भएकी छिन् । प्रथम स्थान हासिल गरेसँगै आकृतिले नगद रु. ३ हजार, प्रमाणपत्र र पुरस्कार हात पारेकी छिन् । 

उपत्यकाभित्रका २४ स्कुलका कुल ४४ छात्रछात्रको सहभागिता रहेको सो प्रतियोगितामा पाठशाला नेपालकी रोजिना हमालले द्वितीय तथा त्रिवेणी पब्लिक स्कुलका सुजन बाँस्कोटा र सैनिक आवासीय माविकी महिमा कार्कीले संयुक्त रूपमा तृतीय स्थान हासिल गरेका थिए ।

सो अवसरमा एम्बिसन एकेडेमीले साहित्यकार दाहाल यज्ञनिधिलाई नगद रु १० हजारसहितको एम्बिसन विशिष्ट साधक सम्मान प्रदान गरेको थियो । कार्यक्रममा प्रमुख अतिथि भानु प्रतिष्ठान नेपालका अध्यक्ष व्रतराज आचार्य, सम्मानित व्यक्तित्व दाहाल यज्ञनिधि, डा. रामप्रसाद ज्ञवाली, डा. देवी नेपाल, रूपक अलङ्कारलगायतका वक्ताले भानुभक्तको योगदानमाथि चर्चा गरेका थिए । 

प्रतियोगितामा प्रथम भई मोक्षदा स्कुलको गौरव बढाउन सफल छात्रा आकृति भुजेललाई मोक्षदा स्कुल परिवार हार्दिक बधाई ज्ञापन गर्दै भविष्यमा थप उच्च सफलताको शुभ कामना व्यक्त गर्दछ ।