Menu

नृत्य प्रतियोगितामा मोक्षदा स्कुल द्वितीय


  21st July, 2017

नृत्य प्रतियोगितामा मोक्षदा स्कुल द्वितीय

काठमाडौं/  राजधानीका ११ संस्थागत स्कुलहरूको साझा मञ्च प्रोगे्रसिभ एजुकेसनल फोरम (पिइएफ) ले आफ्नो दशौँ वार्षिकोत्सवको अवसरमा आयोजना गरेको अन्तरस्कुल लोकनृत्य प्रतियोगितामा मोक्षदा स्कुलले द्वितीय स्थान हासिल गरेको छ । गत वर्ष सोही प्रतियोगितामा तृतीय स्थान हासिल गरेको मोक्षदा यस वर्ष एक स्थान सुधार गरी आफूलाई द्वितीय स्थानमा उभ्याउन सफल भएको हो । सो प्रतियागितामा न्यु इङ्लिस स्कुल, मोक्षदा स्कुल, दुर्गा भवानी एकेडेमी, न्यु सनसाइन इङ्लिस स्कुल र ज्ञानदीप शिक्षा सदन क्रमशः प्रथम, द्वितीय, तृतीय, चतुर्थ र विशेष सान्त्वना स्थान हासिल गर्न सफल भएका थिए ।

कार्यक्रममा पिइएफले २०७३ सालको एसइई परीक्षामा सफल छात्रछात्रालाई सम्मानित गरेको छ । सो अवसरमा पिइएफअन्तर्गतका स्कुलबाट एसइई परीक्षामा सामेल भएका २७० छात्रछात्रालाई सम्मानित गरिएको थियो । पिइएफमा आबद्ध स्कुलमध्ये २०७३ सालको एसइई परीक्षामा सर्वोत्कृष्ट जिपिए (३.९) ल्याउन सफल मोक्षदा स्कुलका रमेश रोका तथा मिसन पब्लिक स्कुलका पुनम तामाङ र प्रदीप चौलागाईंलाई नगद पुरस्कारसहित सम्मान गरिएको थियो । साथै अन्य छात्रछात्रालाई पनि पदक तथा प्रमाणपत्रद्वारा सम्मानित गरिएको थियो । सम्पूर्ण छात्रछात्रालाई काठमाडौंका जिल्ला शिक्षा अधिकारी प्रकाश सापकोटा, प्याब्सनका केन्द्रीय अध्यक्ष विजय सम्बाहाम्फे आयोजक पिइएफका अध्यक्ष विष्णुप्रसाद पोखरेलले संयुक्त रूपमा सम्मानित गरेका थिए ।