Menu

एसएलसीको हाउगुजी


  4th March, 2015

हरिशरण खनाल

एसएलसीको हाउगुजी

फलामे ढोकाको भ्रम यस वर्षको प्रवेशिका (एसएलसी) परीक्षा सुरु हुन अब धेरै दिन बाँकी छैन । वि.सं. १९९० सालदेखि सुरु भएको एसएलसी परीक्षालाई विद्यालय तहको अन्तिम खुड्किलो मानिन्छ । त्यसैले पनि होला, हाम्रो देशमा एसएलसीलाई ‘फलामे ढोका’ पनि भन्ने गरिएको छ । तर, के साँच्चै एसएलसी फलामे ढोका नै हो त ? यस विषयमा सबैका आ–आफ्नै तर्क र धारणा हुन सक्छन्, तर पंक्तिकारको भने यसमा फरक मत छ । एसएलसी परीक्षा फलामे ढोका हुँदै होइन । पार गर्न कठिन हुन्छ भन्ठानेर यसलाई सायद फलामे ढोका भनिएको होला । यो ‘फलामे ढोका’ को बिम्ब हाम्रो समाजमा डरलाग्दो हाउगुजी बनेर स्थापित भएको छ । यही हाउगुजीका कारण आमअभिभावकमा छोराछोरी एसएलसीमा फेल होलान्, समाजमा बदनामी होला र मुख्य कुरो झन्डै १२–१३ वर्षसम्मको आफ्नो मोटो लगानी खेर जाला भन्ने चिन्ता देखिने गरेको छ । त्यसैगरी विद्यार्थीमा पनि बाबुआमाको सपना साकार गर्नै भए पनि विशिष्ट श्रेणीमा उत्तीर्ण हुनैपर्छ र फलामे ढोका भएको हुनाले यसलाई फुटाउन रात रातभर नसुती रटेर पढ्नैपर्छ भन्ने गलत मानसिकताको विकास भएको पाइन्छ । जसले गर्दा यतिखेर हाम्रा गाउँघरदेखि सहरबजारसम्म सर्वत्र अबको तीन दिनपछि सुरु हुने एसएलसीको ‘फिभर’ उच्च बिन्दुमा पुगेको देखिन्छ ।