Menu

बुद्ध जन्मस्थलमा पुग्दा


  27th July, 2018

सुकीर्ति पराजुली, कक्षा : ८

बुद्ध जन्मस्थलमा पुग्दा

विश्वकै बौद्ध धर्मावलम्बीहरुको पावन तीर्थस्थल तथा भगवान् बुद्धको जन्मस्थल लुम्बिनी जाने धोको त यसबारे अलिअलि देखे, सुने र पढेदेखि नै मनमा पलाएको थियो । वर्तमान नेपालको प्रदेश नं. ५ मा पर्ने रुपन्देही जिल्लामा पर्ने लुम्बिनी मेरोमात्र नभई लगभग सबैजसो नेपाली र धेरै विदेशीको पनि पहिलो रोजाइमा पर्ने गरेको छ । लुम्बिनी बौद्ध धर्म मान्नेहरुका लागि त पवित्र तीर्थस्थल नै भइहाल्यो । विश्व सम्पदा सूचीमा परेको यो पवित्र स्थलले बौद्ध धर्मावलम्बीहरुको मात्र नभई संसारभरका हरेक मानिसलाई प्रत्येक दिन हृदयैदेखि स्वागत गरिरहेको छ ।
केही अघि मैले सो पवित्र भूमिको यात्रा गर्ने मौका पाएँ । दादा, दिदीसित त्यहाँ जान पाउँदा खुसीले मन त्यसैत्यसै उडिरहेको थियो । लुम्बिनी पुग्न झन्डै ८/९ घन्टाको लामो बस यात्रा गर्नुपर्दो रहेछ । बाटामा दायाँबायाँ देखिने बस्ती, नदीनाला र वन जंगलको रमणीय दृश्य देख्दा मन त्यसै रमायो । 
लुम्बिनीको मुटु नै रहेछ मायादेवी मन्दिर । विश्व सम्पदा सूचीमा परेको लुम्बिनीको मुख्य भाग नै यही रहेछ । मन्दिरभित्र प्राचीन मन्दिरको भग्नावशेषलाई संरक्षण गरेर जोगाइएको रहेछ । मन्दिरको छेवैमा पवित्र पुष्करिणी, बोधी वृक्ष र अशोक स्तम्भ रहेछन् । ती सबैले लुम्बिनीको पवित्रता र प्राचीनताबारे धेरै प्रमाण बोलिरहेको जस्तो लाग्यो । 
मायादेवी मन्दिरबाट बाहिरिएपछि हामी कहिल्यै ननिभ्ने अखण्ड शान्तिदीप हेर्न पुग्यौँ । शान्तिदीपनजिकै नहर पनि बनाइएको रहेछ । त्यहाँ हामीले मोटर बोटको यात्रा पनि गर्ने अवसर पायौँ । लुम्बिनीमा विभिन्न देशले आआफ्नो संस्कृति तथा देशको राष्ट्रिय विशेषता झल्किने गरी निकै सुन्दर र मनमोहक गुम्बाहरु निर्माण गरेका रहेछन् । यहाँ भारत, म्यानमार, चीन, थाइल्यान्ड, जापान, जर्मनी, दक्षिण कोरिया, भियतनाम जस्ता विभिन्न देशले आआफ्ना शैलीमा गुम्बा बनाएका रहेछन् । यी गुम्बा जुन हे¥यो, त्यही राम्रो जस्तो लाग्दो रहेछ । 
लुम्बिनी घुम्ने क्रममा केही विदेशी पर्यटकसित गफिने पनि मौका जु¥यो । उनीहरु पनि लुम्बिनी घुम्न आउन पाउँदा जीवन नै सार्थक भएको बताइरहेका थिए । तराई मधेसमा पर्ने लुम्बिनीमा गर्मी नै हुने भए पनि भगवान् बुद्धको जन्मस्थल पुग्दाको खुसी र त्यहाँको हरियालीले गर्दा पनि त्यति गर्मीको महसुस भइरहेको थिएन । विदेशी पर्यटकको पनि यस्तै बुझाइ थियो । 
लुम्बिनी घुमेर बुद्ध, बौद्ध धर्म र लुम्बिनीबारे धेरै जान्ने मौका पाएँ । जति सिक्ने मौका पाइयो, त्योभन्दा निकै धेरै रमाइलो पनि गरियो । समग्रमा बुद्ध जन्मस्थल लुम्बिनी पुग्दा एउटा ठूलो सपना पूरा भएको महसुस भयो ।