Menu

मेरो सुन्दरीजलको रमाइलो यात्रा


  28th June, 2021

सुजन अधिकारी, कक्षा : ४

मेरो सुन्दरीजलको रमाइलो यात्रा

२०७५–१०–२ गतेको दिन म मेरो परिवारसँग सुन्दरीजल घुम्न गएको थिएँ । चाबहिलबाट बस चढेर लगभग ३०/३५ मिनेटको बस यात्रापछि  हामी सुन्दरीजल पुग्यौँ। त्यहाँबाट हामी बिस्तारै पैदल उकालो लाग्न थाल्यौँ । लगभग एक घन्टाजति उकालो चढेपछि हामी बल्लतल्ल सुन्दरीमाईको मन्दिर पुग्यौँ । 


सुन्दरीमाई पुग्नुभन्दा अगाडि नै जङ्गलको बिचमा एउटा आर्मीको क्याम्प रहेछ । त्यहाँ हामीले जङ्गलभित्र छिर्न टिकट काट्नुपर्ने रहेछ । हामी सबै टिकट काटेर जङगलभित्र पस्यौँ । टिकेट लिएर भित्र छिरेपछि हामी फेरि उकालो चढ्यौँ । बाटामा थुप्रै सानाठुला झरना पनि देखियो । हामी खोला, झरना, ठुलाठुला चट्टान बिस्तारै पार गर्दै त्यो स्वच्छ वातावरणमा अगाडि बढ्यौँ । हामी त्यहाँबाट उकालो लागेपछि सुन्दरीमाई मन्दिरसँगै काठमाडौँ उपत्यकाकोलागि खाने पानी जम्मा गर्ने ड्याम साइड पुगेका थियौँ । 


सर्वप्रथम मन्दिरछेउ पुगेर हातमुख धोएर मन्दिरमा पूजा गरियो । त्यसपछि दिदी र म मन्दिरभन्दा तल भएको खोलाको सफा पानीमा एकछिन खेल्यौँ । निथ्रक्कै हुनेगरी खेलिसकेपछि हामी पुनः फेरि उकालो चढेर अलिकति माथि पुग्यौँ । हामी त्यहाँ पुग्दा दिउँसोको १ बजिसकेको थियो । सायद त्यसैले होला हामी सबैलाई निकै भोक लागिसकेको थियो । हामीले घरबाटै बनाएर लगेको खाजा नास्ता खायौँ । खाजा खाइसकेपछि हामीले त्यस सुन्दर वातावरणमा टन्नै तस्बिर पनि खिच्यौँ । 


आफूलाई रुख चढ्न सारै रहर लाग्ने भएकाले मैले त्यहाँ आसपासका ससाना रुख खोजेर चढेँ । एकछिन रुखमा चढ्ने र ओर्लने गरिसकेपछि हामी ड्याम साइडतिर लाग्यौँ । नजिकै जाने हिम्मत नभए पनि हामीले टाढैबाट भए पनि धित मर्ने गरी त्यहाँको दृश्य हेरियो । दिनभरि निकै दौडधुपसाथ उकालो ओरालो गरेकाले होला एकदमै थाकियो । तैपनि, त्यहाँको सुन्दर वातवरण वरिपरि हुन पाएकाले होला, त्यस्तो हिँड्नै नसक्ने भने भइएन । 


काठमाडौँमा सानो घरको एउटा सानो कोठामा बस्ने मलाई त्यहाँको हरियाली, जङ्गल, चराचुरुङ्गीको आवाज, निर्मल स्वच्छ पानी, झरना कलकल बगेको आवाज, खोलाको चिसो पानी, र बाटो छेउछाउका बोटमा लटरम्मै फलेका लप्सीका दाना देख्दा अत्यन्तै रमाइलो लाग्यो । त्यस दिन हाम्रो यात्रा जतिसुकै कठिन भए पनि त्यहाँ वरिपरिको वातावरणले हाम्रो थकान सब भुलाइदियो जसले गर्दा मेरो परिवारसँगको सुन्दरीजलको यात्रा निकै नै रमाइलो रह्यो ।