Menu

व्यावहारिक ज्ञानको खोजी


  15th March, 2015

व्यावहारिक ज्ञानको खोजी

कोरा किताबी ज्ञान मात्र सफलताको कसी होइन । बाल बालिकालाई किताबी ज्ञानका अतिरिक्त व्यावहारिक ज्ञान पनि दिन सकियो र उनीहरूलाई जीवनका अनेकौँ उकाली ओरालीमा आइपर्ने चुनौतीसित जुध्न सक्षम बनाउन सकियो भने मात्र शिक्षाको सार्थकता झल्किन्छ । आजको हाम्रो समाजको मुख्य समस्या भनेकै बाल बालिकालाई व्यावहारोपयोगी शिक्षा दिन नसक्नु नै हो । आजको शिक्षा देशका भावी कर्णधार तयार गर्ने दिशामा भन्दा पनि विदेशीको सेवक उत्पादन गर्ने दिशामा केन्द्रित देखिन्छ । यही नै आजको गम्भीर चिन्ताको विषय हो ।
भिन्न सोच, उद्देश्य र लक्ष्यसाथ सञ्चालित मोक्षदा स्कुलले बाल बालिकालाई विभिन्न प्रकारका व्यावहारिक ज्ञान दिने कार्य गर्दै आएको छ । यसै क्रममा स्कुलले कक्षा ९ मा अध्ययनरत छात्रछात्रालाई गमला र फुलका बिरुवा व्यवस्थापनसम्बन्धी ज्ञान दिने प्रयोगात्मक कक्षा सञ्चालन गरेको छ । यस क्रममा विद्यार्थीलाई खेर जाने प्लास्टिकका बोतललाई कसरी गमलाका रुपमा प्रयोग गर्न सकिन्छ भन्ने सिप सिकाउनुका साथै गमलामा रोपिएका फुलका बिरुवा र हाँगाबिँगालाई कसरी पुनः प्रयोग गर्न सकिन्छ भन्ने विषयमा जानकारी दिइएको थियो । विद्यालयकी निर्देशक श्रीमती सुमित्रा श्रेष्ठले यस विषयमा विद्यार्थीलाई गमला व्यवस्थापन, Re-Potting गर्ने तरिका, फुलका हाँगाबिँगाको पुनर्प्रयोगलगायत विषयमा जानकारी दिनुभएको थियो ।
सो क्रममा विद्यार्थीले पनि अभिरुचिपूर्वक गमला र बिरुवा व्यवस्थापनमा सघाएका थिए । उनीहरू आफैँले माटो, गमला तथा बिरुवा व्यवस्थापन गरेका थिए । खेर जाने सामग्रीको पुनर्प्रयोगको नमुनाका रूपमा विद्यार्थीले विद्यालयमा प्लास्टिकका बोतलको गमलामा फुलका बिरुवा रोपेर सजाउने काम गरिरहेका छन् ।