Menu

मोक्षदाको थिएटर थेरापी (खुला कक्षा)


  15th May, 2015

मोक्षदाको थिएटर थेरापी (खुला कक्षा)

विनाशकारी भूकम्पका कारण हामी सबै नराम्ररी त्रसित छौँ । कुन वेला के हुने हो भन्ने चिन्ताले सबैलाई सताइरहेको छ । यतिखेर हामी सबै मनको डरबाट मुक्त हुन सकिरहेका छैनौँ । भूकम्पले स्कुल जाने उमेरका बाल बालिकालाई सबैभन्दा बढी त्रसित बनाएको छ । यतिखेर एकातिर उनीहरूका स्कुलहरू लामो समयदेखि बन्द अवस्थामा छन् । कतिपय स्कुल भवनहरू भत्केका कारण पठनपाठन कहिलेदेखि कसरी सुरु हुने हो भन्ने पनि टुंगो छैन ।
घरदेखि सहर बजारसम्म, टेलिभिजनदेखि पत्र पत्रिका र इन्टरनेटसम्म सबैतिर भूकम्पकै विनाशलीलाबारे चर्चा परिचर्चा भइरहेको पाइन्छ । जसबाट हाम्रा कलिला बाल बालिका नराम्ररी प्रभावित भइरहेका छन् । त्यसैले, बाल बालिकाको मनमा जमेर बसेको डर भगाई उनीहरूलाई मनोवैज्ञानिक परामर्श दिने उद्देश्यले मोक्षदा स्कुलले निःशुल्क
थिएटर थेरापी (खुला कक्षा) सञ्चालन गर्दै छ ।
सो खुला कक्षामा बाल बालिकालाई भूकम्पका कारण उत्पन्न डर मेटाउने उद्देश्यले मनोपरामर्श दिइने छ । उनीहरूलाई चित्रकला र हस्तकलासम्बन्धी ज्ञान दिनुका साथै नाटकको प्रशिक्षण र नाटकमा सहभागीसमेत गराइने छ । यसका साथै, बाल बालिकालाई कविता लेखन तथा वक्तृत्वकला, वाद विवाद जस्ता अभिव्यक्ति कलासम्बन्धी सिप पनि सिकाइने छ । यस खुला कक्षामा सहभागिताका लागि कुनै शुल्क लाग्ने छैन । साथै, यस
थिएटर थेरापीमा मोक्षदा स्कुलमा अध्ययनरत छात्रछात्राका अतिरिक्त अन्य कुनै पनि विद्यालयमा अध्ययनरत छात्रछात्रा पनि सहभागी हुनसक्ने छन् । यसका लागि आ–आफ्ना बाबुनानीहरू र वरपरका आफन्तका बाबुनानीहरूलाई पनि यस कक्षामा सहभागी गराइदिनुहुन सम्पूर्ण अभिभावकज्यूहरूमा हार्दिक अनुरोध गरिन्छ । यस खुला कक्षामा कक्षा ४ देखि १० सम्म अध्ययनरत छात्रछात्रा सहभागी हुनसक्ने छन् ।

कार्यक्रम हुने स्थान : प्रणवानन्द आश्रम जाने बाटोको बाँयापट्टि रहेको खुला चौर
मिति : शनिबार, जेठ २, ०७२ देखि जेठ १४, बिहिबारसम्म
समय : बिहान ८ बजेदेखि १० बजेसम्म