Menu

थिएटर थेरापी सम्पन्न


  28th May, 2015

थिएटर थेरापी सम्पन्न


मोक्षदा स्कुलद्वारा सञ्चालित थिएटर थेरापी बिहीबार सम्पन्न भयो । भूकम्पबाट प्रभावित बाल बालिकालाई सिर्जनात्मक काममा लगाउने, उनीहरूमा रहेको भूकम्पको डर भगाउने र निर्धक्क भई स्कुल जाने वातावरण तयार गर्ने उद्देश्यले सञ्चालित सो थिएटर थेरापी १४ दिनसम्म चलेको थियो । सो थेरापीमा बाल बालिकाले मेडिटेसन, नाटक, चित्रकला, कविता, गजलसँग सम्बद्ध कक्षामा सहभागी हुनुका साथै, मनोपरामर्श सम्बन्धी कक्षामा पनि सहभागी हुने अवसर पाएका थिए । समापन समारोहमा बाल बालिकाले थेरापीमा बनाएका चित्रकला प्रदर्शन गर्नुका साथै उनीहरूले सिकेको नाटक पनि प्रदर्शन गरेका थिए ।

स्थानीय समाजसेवी रामचन्द्र भट्टको सभापतित्वमा सम्पन्न सो समापन कार्यक्रममा विनायक नगर साथी बहुउद्देश्यीय सहकारी संस्थाकी अध्यक्ष अनीता शाह, रामचन्द्र भट्ट लगायत वक्ताले कार्यक्रमले बाल बालिकालाई सिर्जनात्मक तथा अनुशासित बन्न सिकाएको तथा उनीहरूमा रहेको भूकम्पसम्बन्धी डर भगाउन सहयोगी भएको विचार व्यक्त गर्नुभयो । कार्यक्रममा बोल्दै मोक्षदा स्कुलका नाटक निर्देशक सुरेश चन्दले यस्ता कार्यक्रम आगामी दिनमा हरेक शनिबार बिहान विद्यालय हाताभित्रै आयोजना गरिने बताउनुभयो ।

समापन समारोहमा विद्यालयका सङ्गीत शिक्षक भेषु थापा र कक्षा १० मा अध्ययनरत छात्रा ममता थापाले गीत सुनाउनुभएको थियो । सो कार्यक्रम विद्यालयका निर्देशक हरिशरण खनालले सञ्चालन गर्नुभएको थियो । १४ दिनसम्म सञ्चालित सो थिएटर थेरापीमा काठमाडौंका विभिन्न स्कुलमा अध्ययनरत करिब २०० छात्रछात्राको सहभागिता रहेको थियो । थिएटर थेरापीमा सुरेश चन्दले नाटकको, रश्मि अमात्य, प्रवीण र आकाशले चित्रकलाको, बलराम दाहालले कविता तथा गजलको र कीर्तन अधिकारीले बाल बालिकामा आमसञ्चारको प्रभावबारे विशेष कक्षा लिनुभएको थियो । सो अवसरमा अभिभावकका लागि डा. इन्जिनियर दीपकराज भाटले भूकम्पसम्बन्धी कक्षा लिनुभएको थियो भने मनोविद् अनुप राजभण्डारीले मनोपरामर्श दिनुभएको थियो । प्रणवानन्द आश्रमले सो थिएटर थेरापीमा छात्रछात्रा र अभिभावकका लागि नियमित मेडिटेसनको कक्षा सञ्चालन गरेको थियो ।