Menu

गजल वाचन प्रतियोगिता सम्पन्न


  27th August, 2016

गजल वाचन प्रतियोगिता सम्पन्न

मोक्षदा स्कुलले मोतीराम भट्टको १५१औँ जन्म जयन्तीको पूर्वसन्ध्यामा उपत्यकाव्यापी प्रथम अन्तरविद्यालय स्तरीय मोतीराम स्मृति रनिङ सिल्ड गजल वाचन प्रतियोगिता आयोजना गरेको छ । नेपाली भाषा साहित्यमा गजल विधाको शुभारम्भ गर्ने युवाकवि मोतीराम भट्टको सम्झनामा आयोजित सो प्रतियोगितामा काठमाडौँ उपत्यकाभित्रका १८ स्कुलका छात्रछात्राको सहभागिता रहेको थियो ।
सो गजल वाचन प्रतियोगितामा न्यू इङ्लिस स्कुलकी सपना महतारा, नेपाल वेद विद्याश्रम संस्कृत माविका बबिन न्यौपाने, ब्राइट फ्युचर उच्च माविकी ऋतिका मल्ल र महान् सिद्धार्थ हाई स्कुलकी अन्जु बोगटी क्रमशः प्रथम, द्वितीय, तृतीय र चतुर्थ स्थान प्राप्त गर्न सफल हुनुभएको थियो । वरिष्ठ गजलकार ज्ञानुवाकर पौडेलको प्रमुख आतिथ्यमा सम्पन्न सो प्रतियोगितामा प्रमुख अतिथि पौडेलले विद्यालय तहदेखि नै गजलका यस्ता प्रतियोगिताहरू सञ्चालन हुँदा विद्यार्थीमा गजल विधाप्रतिको आकर्षण बढ्ने विश्वास व्यक्त गर्नुभयो । साथै, उहाँले विद्यालय तहका बालबालिकाबिच गजलको आकर्षण बढाउने कार्यमा मोक्षदा स्कुलले सराहनीय काम गरेको भन्दै विद्यालयको प्रगतिको कामना पनि गर्नुभयो । प्रतियोगितामा अञ्जली खनाल र यूथिका खनालद्वारा आफ्ना स्वर्गीय हजुरआमा लेखकुमारी खनाल र हजुरबुबा लोकनाथ खनालको सम्झनामा प्रायोजित रनिङ सिल्ड विजयी विद्यालयलाई हस्तान्तरण गरिएको थियो ।
सो अवसरमा अनाम मण्डलीका तर्फबाट गजलकारहरू रूपक अलंकार, बलराम दाहाल, नारायण निरासी, असीम सागर, तपेन्द्र घोरासैनीलगायतले आआफ्नो गजल वाचन गर्नुभएको थियो । कार्यक्रममा बलराम दाहाल र नारायण निरासीले निर्णायकको भूमिका निर्वाह गर्नुभएको थियो । अनाम मण्डली, काठमाडौंको प्राविधिक सहयोगमा आयोजित सो कार्यक्रममा मोतीराम–सेतुराम गजल पुरस्कार अक्षय कोषका संस्थापक डा. माधव बराल, समाजसेवी ध्रुव पौडेल, विष्णुप्रसाद पोखरेललगायत वक्ताले मन्तव्य राख्नुभएको थियो । उहाँहरूले यस्ता कार्यक्रमले विद्यार्थीमा भाषा साहित्यप्रति अनुराग जगाउने विश्वास व्यक्त गर्नुभयो ।
आयोजक मोक्षदा स्कुलका तर्फबाट प्रिन्सिपल ठाकुर तिमल्सेनाले यस्ता प्रतियोगितालाई आगामी वर्षहरूमा पनि निरन्तरता दिइने बताउनुभयो । विद्यालयका शैक्षिक निर्देशक हरिशरण खनालले स्वागत मन्तव्य राख्दै विद्यालयले पठनपाठन र अतिरिक्त क्रियाकलापलाई सँगसँगै लगिरहेको बताउनुभयो । विद्यालयका जनसम्पर्क प्रमुख सुरेश चन्दको सभापतित्वमा सम्पन्न सो प्रतियोगितामा विद्यालयका अङ्गे्रजी विभाग प्रमुख अनील पौडेलले कार्यक्रम सञ्चालन गर्नुभएको थियो भने कक्षा १० की छात्रा वर्षा पहरीले मोतीराम भट्टद्वारा रचित अप्रतियोगी गजल वाचन गर्नुभएको थियो ।