Menu

मोक्षदा निर्वाचन २०७५


  17th May, 2018

मोक्षदा निर्वाचन २०७५

बालबालिकालाई निर्वाचनसम्बन्धी प्रयोगात्मक तथा व्यावहारिक ज्ञान दिने उद्देश्यले मोक्षदा स्कुलले हरेक वर्ष आफ्ना छात्रछात्रामाझ एक नमुना निर्वाचन आयोजना गर्दै आएको छ । यस वर्ष सो निर्वाचन यही ३ जेठ, २०७५ का दिन सम्पन्न गरियो । 
यस वर्षको मोक्षदा निर्वाचनबाट स्कुल क्याप्टेन तथा भाइस क्याप्टेनका अतिरक्त स्कुलमा स्थापित अपी, नीलगिरि, मनास्लु र माछापुच्छ्रे गरी चार सदनका क्याप्टेन र भाइस क्याप्टेन निर्वाचित भए । यस निर्वाचनमा स्कुलमा कक्षा ४ देखि १० सम्म अध्ययनरत सम्पूर्ण छात्रछात्रा मतदाता रहेका थिए । निर्वाचनका लागि मनोनयन दर्तादेखि प्रचारप्रसार र नाम फिर्तासम्मका सम्पूर्ण प्रक्रिया पूरा गरिएका थिए । मतदातालाई निर्वाचन शिक्षा पनि दिइएको थियो ।

निर्वाचनका लागि स्कुलका जनसम्पर्क प्रमुख सुरेश चन्द र सामाजिक तथा जनसंख्या शिक्षक जयराम सापकोटालाई मतदान अधिकृत तोकिएको थियो । निर्वाचन सुरक्षाका लागि युवराज गौतम, रञ्जन उप्रेती, शुभेक्षा भण्डारी र आकृति भुजेलले सुरक्षाकर्मीको भूमिका निभाएका थिए । निर्वाचनका लागि सम्पूर्ण उम्मेदवारलाई फरक फरक निर्वाचन चिह्न दिइएको थियो । सोहीअनुसार तयार गरिएको मतपत्रमा मतदाताले आफूले रोजेका उम्मेदवारको चिह्नमा स्वस्तिक छाप लगाएर मतदान गरेका थिए । निर्वाचनको क्रममा मतदाताको नङमा कालो मसीको चिनोसमेत लगाइएको थियो ।

सो निर्वाचनमा संग्राम क्षेत्री, स्नेहा दास, प्रिया तिमल्सिना र रोनक साहले स्वयंसेवकका रुपमा निर्वाचनलाई सफल पार्न भूमिका निर्वाह गरेका थिए । निर्वाचनमा अभिभावक ध्रुव पौडेलले पर्यवेक्षकका रुपमा निर्वाचन प्रक्रियाको निरीक्षण गरेका थिए । सो अवसरमा निर्वाचन पर्यवेक्षक पौडेलले निर्वाचनको यो तहको अभ्यासले बालबालिकाले निर्वाचनसम्बन्धी सम्पूर्ण प्रक्रियाबारे सानैदेखि जानकारी पाउने हुनाले मोक्षदा स्कुलको यो प्रयोग प्रशंसनीय रहेको बताए । ‘किताबमा पढाएको भरमा निर्वाचनसम्बन्धी प्रक्रिया बालबालिकालाई बुझाउन कठिन हुन्छ,’ पर्यवेक्षक पौडेलले भने, ‘तर, यस्तो निर्वाचनसम्बन्धी प्रयोगले बालबालिकालाई कहिल्यै नबिर्सिने स्थायी प्रकृतिको ज्ञान दिने हुनाले यस्तो कार्यलाई आगामी वर्षमा पनि निरन्तरता दिइनुपर्छ ।’

निर्वाचनबाट स्कुल क्याप्टेनमा कक्षा १० का छात्र चन्दन दास र भाइस क्याप्टेनमा कक्षा १० कै छात्र सुदीप बस्नेत निर्वाचित भएका थिए । निर्वाचन परिणामअनुसार अपी सदनबाट सुदर्शन मोक्तान क्याप्टेन र मनोज श्रेष्ठ भाइस क्याप्टेन निर्वाचित भए । नीलगिरि सदनबाट निर्मला दास र विपिन ढकाल क्रमशः क्याप्टेन र भाइस क्याप्टेनमा निर्वाचित भए । त्यसैगरी मनास्लु सदनबाट इच्छा चन्द र सुकीर्ति पराजुली क्रमशः क्याप्टेन र भाइस क्याप्टेन तथा माछापुच्छ्रे सदनबाट आभास चन्द र आकृति खड्काले क्रमशः क्याप्टेन र भाइस क्याप्टेनमा जित हासिल गरे ।