Menu

अभिभावक दिवस सम्पन्न


  7th March, 2015

अभिभावक दिवस सम्पन्न


मोक्षदा स्कुलको वार्षिकोत्सव तथा अभिभावक दिवस भव्य रूपमा सम्पन्न भयो । विद्यालयको प्राङ्गणमा सम्पन्न सो दिवसमा कक्षा नर्सरीदेखि कक्षा १० सम्मका छात्रछात्राले विभिन्न नृत्य प्रस्तुत गर्नुका साथै गीत गाएका थिए । साथै, कार्यक्रममा उनीहरुले नाटकसमेत प्रस्तुत गरेका थिए । विद्यालयको सुधार र बाल बालिकाको प्रगतिमा अभिभावकको भूमिकासम्बन्धी विषय वस्तु समेटिएको सो नाटकमा विद्यार्थीले जोडदार अभिनय प्रस्तुत गरेका थिए ।
अभिभावक दिवसमा विद्यालयका तर्फबाट निर्देशक श्री हरिशरण खनालले विद्यालयले वर्षभरिमा विभिन्न विद्यालयहरूद्वारा आयोजित  विभिन्न प्रतियोगितामा सहभागी भई प्राप्त गरेको सफलताबारे जानकारी गराउनुभएको थियो । यस वर्ष विद्यालयले उपत्यकाभित्रका २३ विद्यालयले आयोजना गरेका २७ प्रतियोगितामा सहभागिता जनाएको थियो भने १५ वटा प्रतिस्पर्धामा पुरस्कार जितेको थियो । त्यसैगरी प्रिन्सिपल श्री ठाकुर तिमल्सेनाले विद्यालयका विविध गतिविधिबारे जानकारी गराउँदै आगामी वर्षको योजनाबारे समेत जानकारी गराउनुभएको थियो ।
विद्यालयका कोअर्डिनेटर श्री गणेशराज पाठकको सभापतित्वमा सम्पन्न सो अभिभावक दिवसमा प्रोग्रेसिभ एजुकेसनल फोरमका अध्यक्ष श्री विष्णुप्रसाद पोखरेलले मोक्षदा स्कुलले भविष्यमा अझै सफलताका सिँढी चढ्दै जाओस् भन्ने शुभकामना व्यक्त गर्नुभयो ।
अभिभावक दिवसमा अभिभावकका तर्फबाट लक्ष्मी सापकोटा, धर्मप्रसाद गौतम र नरेन्द्रबहादुर थापाले मन्तव्य राख्नुभएको थियो । मन्तव्यका क्रममा तिनैजना अभिभावकहरूले विद्यालयले दिनप्रतिदिन प्रगतिको सिँढी चढ्दै गएकोमा खुसी प्रकट गर्नुभयो । उहाँहरुले विद्यालयले आयोजना गरेको अभिभावक दिवस भव्य रूपमा सफल भएको चर्चा गर्दै विद्यालयले विद्यार्थीको चौतर्फी विकासमा उल्लेख्य भूमिका खेलिरहेको बताउनुभयो । यस वर्ष विद्यालयले आयोजना गरेको शैक्षिक भ्रमणको खुलेर प्रशंसा गर्दै उहाँहरूले आगामी दिनमा यसलाई अझ विस्तार गर्नुपर्नेमा जोड दिनुभयो ।
कार्यक्रमको सञ्चालन कक्षा ९ का छात्राहरू ममता थापा, सृजा गौतम र यशोदा चौलागाईंले गर्नुभएको थियो ।