Menu

अभिभावक दिवस सम्पन्न


  1st March, 2019

अभिभावक दिवस सम्पन्न

मोक्षदा स्कुलले यही फागुन १७ गते शुक्रबार अभिभावक दिवस आयोजना गरेको थियो । स्कुलकै प्राङ्गणमा आयोजित सो अभिभावक दिवसमा कक्षा प्ले ग्रुपदेखि कक्षा १० सम्मका सम्पूर्ण अभिभावक तथा छात्रछात्राको सहभागिता रहेको थियो । 
नेपाली भाषा, साहित्यका वरिष्ठ साधक तथा कोशकार प्राडा. बद्रीविशाल भट्टराईको प्रमुख आतिथ्यमा सम्पन्न सो अभिभावक दिवसमा प्लेग्रुपदेखि कक्षा १० सम्मका सम्पूर्ण छात्रछात्राले नृत्य, गायन तथा नाटक प्रस्तुत गरेका थिए । साथै, सो अवसरमा स्कुलका शिक्षक, शिक्षिकाका तर्फबाट पनि नृत्य तथा गायन प्रस्तुत गरिएको थियो । कार्यक्रममा विद्यालयका योग क्लबका छात्रछात्राले योगाभ्यास प्रस्तुत गरेका थिए भने नाटक क्लबका विद्यार्थीले नाटक प्रस्तुत गरेका थिए । साथै, कार्यक्रममा छात्रछात्राले दोहोरी पनि प्रस्तुत गरेका थिए ।
कार्यक्रममा बोल्दै प्रमुख अतिथि प्राडा. भट्टराईले विद्यालयलाई शुभकामना दिए भने अभिभावकका तर्फबाट धर्म गौतमले मन्तव्य राखे । उनले सो अवसरमा बोल्दै मोक्षदा स्कुले विद्यार्थीको सर्वाङ्गीण विकासमा महत्त्वपूर्ण उपलब्धि हासिल गरेको बताउँदै आगामी दिनमा थप प्रगतिको कामना गरे । सो अवसरमा हास्य कलाकार तथा विद्यालयका अभिभावक सुलेमान शङ्कर (इकु) ले पनि आफ्नो मन्तव्य राख्दै उपस्थित अभिभावकलाई मनोरञ्जन दिलाएका थिए ।
विद्यालयका शैक्षिक निर्देशक हरिशरण खनालले स्वागत मन्तव्य प्रस्तुत गरेका थिए भने प्रधानाध्यापक ठाकुर तिमल्सेनाले विद्यालयका गतिविधिमाथि प्रकाश पारेका थिए । 
कार्यक्रममा यूथिका खनाल, उपहार लिम्बू, सृजा गौतम, अञ्जली खनाल, अनुज खड्का र सुदर्शन मोक्तानले उद्घोषण गरेका थिए ।