Menu

स्कुलमै मेहन्दी लगाएर साउनको स्वागत


  23rd July, 2019

स्कुलमै मेहन्दी लगाएर साउनको स्वागत

सामान्यतः स्कुलहरूमा मेहन्दी प्रतिबन्धित नै हुन्छ । हरेक वर्ष साउन लागेदेखि नै स्कुल र त्यहाँ अध्ययनरत छात्राको टाउको दुःखाइको विषय बन्ने गरेको छ मेहन्दी । छात्रालाई हात मेहन्दी नलगाई नहुने र स्कुललाई मेहन्दी देख्नै नहुने । यही लुकामारीबिच कैयाँ छात्राले मेहन्दी लगाएको ‘अपराध’ मा शारीरिक सजायसमेत पाउने गरेका छन् । तर, मोक्षदा स्कुलले भने विगत केही वर्षदेखि भिन्न प्रयोग गर्दै आएको छ । 


मोक्षदाले हरेक वर्ष साउन लागेपछि एक विशेष कार्यक्रम नै आयोजना गरेर छात्राहरूलाई स्कुलमै मेहन्दी लगाइदिँदै आएको छ । स्कुलले मेहन्दी किनेर ल्याइदिन्छ र छात्राहरूले प्रतिव्यक्ति रु. २० तिरेर मेहन्दी लगाउँछन् । यसरी उठेको रकमबाट मेहन्दीको रकम कटाएर बाँकी रहेको रकम प्रणावनन्द आश्रमलाई चन्दास्वरूप प्रदान गर्ने गरिन्छ । यस वर्ष मेहन्दीबाट बचेको रु. ९२०÷– आश्रमको खुत्रुकेमा विद्यार्थी स्वयंले खसालेका थिए । 

मेहन्दी लगाउन इच्छुक छात्रालाई निर्मला दास, पूजा शाह, चाँदनी दास, प्रिन्सी दास, आस्था साहलगायत छात्राले निकै आकर्षक डिजाइनमा मेहन्दी लगाइदिएका थिए ।