Menu

इलाम र दार्जिलिङको शैक्षिक भ्रमण


  27th October, 2019

इलाम र दार्जिलिङको शैक्षिक भ्रमण


किताबी ज्ञानले मात्र विद्यार्थीको शैक्षिक ज्ञान पूर्ण हुँदैन । उनीहरूको शारीरिक, मानसिकलगायत सर्वाङ्गीण विकासका लागि अतिरिक्त क्रियाकलापका साथमा विभिन्न स्थानको शैक्षिक भ्रमण पनि गराउनु जरुरी हुन्छ । 
विगतमा पोखरा, घान्द्रुक, धम्पुस, चितवन, बन्दीपुर, गोरखा, लुम्बिनी, पाल्पा, त्रिवेणीलगायत विभिन्न स्थानको शैक्षिक भ्रमणमा आफ्ना छात्रछात्रालाई सहभागी गराइसकेको मोक्षदा स्कुलले यस वर्ष यही कार्तिक ५ गतेदेखि ८ गतेसम्म कक्षा १० का छात्रछात्रालाई जनकपुर, इलाम र दार्जिलिङको शैक्षिक भ्रमण गरायो । 
यसपटकको शैक्षिक भ्रमणमा छात्रछात्राले बिपी राजमार्ग हुँदै जनकपुर, झापा, इलाम र दार्जिलिङसम्मको यात्रा गरे । त्यस क्रममा उनीहरूले जनकपुरका जानकी र राम मन्दिरको अवलोकन गरे भने जानकी मन्दिरको हातामा रहेको विद्युतीय सांस्कृतिक सङ्ग्रहायलको पनि भ्रमण गरे । 

झापा हुँदै इलाम भ्रमणका क्रममा सानो पाथीभरा देवीको दर्शन गर्नुका साथै झापा र इलामको कन्याम र फिक्कलका चियाबगानको पनि छात्रछात्राले अवलोकन गरेका थिए । यस क्रममा विद्यार्थीले इलामको पशुपतिनगर नाका हुँदै दार्जिलिङको पनि भ्रमणगरे । फर्किने क्रममा टोलीले कोसी ब्यारेजको पनि अवलोकन गरेको थियो । टोलीमा प्रधानाध्यापक ठाकुर तिमल्सेना र शैक्षिक निर्देशक हरिशरण खनालको पनि सहभागिता थियो ।